२६ असार २०८३, शुक्रबार
समृद्धिको यात्रा

लगानीको वातावरणबारे अर्थमन्त्रीको जवाफ : ‘शतप्रतिशत सुनिश्चित हुँदैन, सुधार गर्दै जाने हो’

लगानीको वातावरणबारे अर्थमन्त्रीको जवाफ : ‘शतप्रतिशत सुनिश्चित हुँदैन, सुधार गर्दै जाने हो’

काठमाडौं – अर्थमन्त्री डा. युवराज खतिवडाले देशमा लगानीको वातावरण शतप्रतिशत सुनिश्चित नभएपनि सुधार गर्दै जाने बताएका छन् ।

लगानी सम्मेलन २०१९ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री खतिवडाले विगतभन्दा लगानीको वातावरण धेरै सुधार भएको बताए । राजनीतिक स्थिरतासँगै सरकारले कानूनी पूर्वाधार निर्माण र लगानीकर्तालाई सहुलियत र सुविधा लगायतमा ध्यान केन्द्रित गरेको बताए ।

ठूला आयोजनामा विदेशी लगानी भित्र्याउने सरकारले चैत १५ र १६ गते लगानी सम्मेलन गर्दैछ । ४० देशका ६ सयभन्दा बढी लगानीकर्ताको सहभागिता रहने भनिएको सम्मेलनमा ६६ आयोजनाका सूचीसमेत प्रस्तुत गरेर लगानी आकर्षित गरिने सरकारले जनाएको छ । सम्मेलनमा ६४ करोडदेखि ३ खर्ब ५० अर्ब रुपैयाँसम्मका परियोजना प्रस्तुत गरिने छन् । सम्मेलनमा ऊर्जा, भौतिक पूर्वाधार, कृषि , सूचना प्रविधि, औद्योगिक, शिक्षा र स्वास्थ्य, पर्यटनलगायत क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री खतिवडाले लगानीको वातावरण बनाउन कानूनी पूर्वाधार निर्माण भएको बताए । ‘कानूनी पाटो अझै पूरा भएको छैन, व्यवहारमा कार्यान्वयन गर्न एकद्वार प्रणाली सहितको भौतिक र जनशक्ति व्यवस्थापन गर्नुपर्ने छ,’ उनले भने, ‘लगानीकर्ताको नाफा, पूँजी, आय सहजै विदेश लैजान सकिने कानूनी व्यवस्था गरेका छौं ।’

विदेशी लगानीबारे ७ दिनभित्र निर्णय गरिसक्नुपर्ने ऐनमा नै व्यवस्था भएकाले अब निर्णय गर्न ढिलाइ नहुने अर्थमन्त्री खतिवडाले बताए । ‘लगानीकर्ताको उत्साहलाई अंकमा बदल्न अनुगमन गर्नुपर्ने हुन्छ । प्रतिवद्धता जनाएको आयोजना कार्यान्वयन र लाभसम्मको काम लगानी बोर्डमार्फत् व्यवस्थित ढंगले अगाडि बढ्छ,’ उनले भने । 

लगानीको वातावरण र सुरक्षाबारे बोल्दै अर्थमन्त्री खतिवडाले सरकारले सुरक्षाका सबै प्रबन्ध चुस्तदुरुस्त गरेको बताए । ‘सबै नेपालीलाई अनुरोध छ, यो सबैको साझा अभियान हो । लगानीको वातावरण बनाउन सकेनौं भने हाम्रा छोराछोरीले रोजगारी खोज्नुपर्ने, विदेश जानुपर्ने र गरीबीमा रहनुपर्ने हुन्छ,’ उनले भने, ‘वातावरण बिग्रिए हामी पराजित हुन्छौं, आफैं पराजित हुने काममा कोही नलागौं । हाम्राबीच केही मुद्दा छन् भने बसेर छलफल गरौं ।’

लगानीकर्ताको सहजताका लागि सरकारले सबै कानूनी प्रक्रिया एकै ठाउँबाट पूरा हुने गरी ‘एकल बिन्दू सेवा केन्द्र’ स्थापना समेत गरिरहेको छ । केन्द्र स्थापनाको खाका बनिसकेको र उद्योग विभाग परिसरमा भौतिक संरचना ९० प्रतिशत बनिसकेको पत्रकार सम्मेलनमा लगाइएको छ । केन्द्रमा कर्मचारीको व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयसँग समन्वय भइसकेको जनाइएको छ । 

लगानीको वातावरण बनाउन सबै ऐन, कानून, नियमावली, कार्यविधि सुधार गरिरहेको बताउँदै अर्थमन्त्री खतिवडाले सुधारले पूर्णता नपाएपनि सुधार निरन्तर चलिरहने बताए । 

निजी क्षेत्रका प्रतिनिधिलाई नजिकै राखेर पत्रकार सम्मेलन गरेका अर्थमन्त्री खतिवडाले लगानी सम्मेलनमा निजी लगानीकर्ताको सक्रिय सहभागिता रहेको सन्देश दिन खोजेका छन् । पत्रकार सम्मेलनमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघी अध्यक्ष भवानी राणाले लगानी सम्मेलन निजी क्षेत्रका लागि सूवर्ण अवसर भएको बताइन् । ‘अहिले राजनीतिक स्थिरता छ, सरकारले आर्थिक समृद्धिलाई पहिलो लक्ष्य राखेकाले अहिले लगानी गर्ने वातावरण छ । तर नीतिगत कुरा परिवर्तन गर्नुपर्छ भनेर हामीले भनेका छौं,’ उनले भनिन् ।

लगानी कहाँ–कहाँ गर्ने ?

लगानी बोर्ड मातहत हुने ठूला लगानीमा मुलुकको समृद्धिको प्रमुख आधारको रूपमा रहेको ऊर्जा क्षेत्रलाई विशेष प्राथमिकतामा राखी ८ ठूला परियोजना छनोट गरिएको छ । त्यसमा नलगाड जलविद्युत् आयोजना, एआर–६, सुनकोशी दोस्रो र तेस्रो, तमोर जलाशयुक्त आयोजना, पश्चिम सेती, तल्लो अरुण, पश्चिम सेती र एसआर–६ संयुक्तलाई प्रमुख आयोजनाको रूपमा राखिएको छ ।

बोर्डका अनुसार ३१ खर्ब रुपैयाँ बराबरका परियोजनाको सूची टुंगो लगाइएको छ । सम्मेलनको संयोजन गरिरहेको लगानी बोर्डले हाल निर्माणाधीन अवस्थामा रहेको ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीको पछिल्लो अवस्थाबारे सम्मेलनमा जानकारी गराउने भएको छ ।

सम्मेलनमा परियोजनाको विविधता झल्किने भएकाले विगतका सम्मेलनभन्दा फरक रहेको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताए । सम्मेलन उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई आमन्त्रण गरिएको छ । सम्मेलनलाई सरकारले आफ्नो र समृद्धि अभियानको प्रतिष्ठासँग जोडेको छ । 

सरकारले अध्ययन गरिरहेका पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, काठमाडौं पोखरा रेलमार्ग, काठमाडौं मेट्रो रेलदेखि भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय प्रसूति अस्पतालसम्मका परियोजना समेत सम्मेलनमा प्रस्तुत गरिने छन् । 

निजी क्षेत्रले अध्ययन गरिरहेका त्रिशूली गल्छी, मध्यकालीगण्डकी, इन्गवा खोला, माथिल्लो चमेलिया, म्याग्दी खोलाजस्ता आयोजना पनि आकर्षणको रूपमा रहेका छन् । सम्मेलनमा नै केही आयोजनासँग समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी समेत गरिएको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्