
काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनको काम सकिएको घोषणा गरेको छ । बिहीवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री लालबाबु पण्डितले समायोजनको काम सम्पन्न भएको घोषणा गरे ।
मन्त्रालयका सहसचिव सुरेश अधिकारीका अनुसार संघमा ४८ हजार ४ सय ९ दरबन्दीमा ४० हजार ७ सय ६९ समायोजन भएका छन् ।
प्रदेशमा २२ हजार २ सय ९७ दरबन्दीमा १४ हजार ६ सय ५९ समायोजन सम्पन्न भएका छन् । स्थानीय तहमा ६६ हजार ९ सय ८ जनामा ३१ हजार ४३ जना समायोजन भएको अधिकारीले बताए । स्थानीय तहमै साविकका स्थानीय निकाय, जिविस र अन्य सेवाका गरी थप १२ हजार ९७ कर्मचारी समेत स्थानीय तहमा समायोजन भएका छन् ।
समायोजन महाशाखाका सहसचिव केदारप्रसाद पनेरुले स्वास्थ्य सेवाका कर्मचारीको समायोजनसँगै कर्मचारी समायोजनको काम सकिएको जानकारी दिए ।
यस्तै सहसचिव अधिकारीले समायोजनको गुनासोलाई चैतभित्रमा सम्बोधन गरिने बताए ।
पत्रकार सम्मेलनमा मन्त्री लालबाबु पण्डितले रिक्त रहेका कर्मचारीको पदपूर्तिका लागि लोक सेवा आयोगमार्फत छिट्टै भर्ना खोल्ने बताए ।
‘१५ देखि २० हजार नयाँ कर्मचारी भर्नाका लागि विज्ञापत छिट्टै खोल्नेछौं,’ मन्त्री पण्डितले भने ।
मन्त्री पण्डितले समायोजनको काम कुशलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिए ।