
काठमाडौं – आइतवार राति बारा र पर्सा जिल्लामा आएको आँधीहुरीका प्रभावितलाई राहत पुर्याउन सत्तारुढ नेकपाका सांसदले १ दिनको तलब दिने निर्णय गरे ।
लगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले २ दिनको तलब दिने निर्णय भएको छ । सत्तापक्ष र प्रतिपक्षबीच राहत घोषणामा प्रतिस्पर्धा नै देखिएको छ ।
विपद्मा मृत्यु भएका व्यक्ति परिवारलाई राहत, घाइतेको उपचार र पुनर्स्थापनाका लागि कांग्रेसका सांसदले २ दिनको तलब दिने घोषणा गरेका हुन् ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘मिति २०७५ चैत्र १७ गते आइतवारका दिन साँझ बारा र पर्सा लगायत तराईका विभिन्न स्थानमा अकस्मात आएको भीषण हावाहुरीबाट प्रभावितहरूका लागि राहत स्वरुप नेपाली कांग्रेसका संघीय संसदमा प्रतिनिधित्व गर्नुहुने माननीय सदस्यज्यूहरूको दुई (२) दिनको तलब बराबरको रकम सहयोग गर्ने नेपाली कांग्रेस संसदीय दल निर्णय गर्दछ ।’

कांग्रेसको संघीय संसदीय दलको कार्यालयले सोमवार जारी गरेको विज्ञप्तिमा नेपाली कांग्रेसका सम्पूर्ण सांसदको तर्फबाट २ दिनको पारिश्रमिक बराबर प्राप्त हुने रकम राहतस्वरूप उपलब्ध गराउने निर्णय भएको व्यहोरा उल्लेख छ ।
यसअघि, नेकपाको संघीय संसदीय दलको कार्यालयले सोमवार जारी गरेको विज्ञप्तिमा नेकपाका संघीय दलका पदाधिकारी तथा सम्पूर्ण सांसदको तर्फबाट १ दिनको पारिश्रमिक बराबर प्राप्त हुने रकम राहतस्वरूप उपलब्ध गराउने निर्णय भएको व्यहोरा उल्लेख छ ।
