
चितवन-आन्तरिक राजश्व कार्यालय भरतपुरले लामो समयदेखि बक्यौता नतिरेका २७ फर्म सञ्चालकको सम्पत्ति रोक्का तथा लिलाम प्रक्रिया अघि बढाएको छ । कार्यालयका कर अधिकृत त्रिविक्रम तिमिल्सिनाका अनुसार ती करदाताको बैंकिङ तथा वित्तीय कारोवार रोक्का गरेकामा हालसम्म उक्त बक्यौता फरफारक नगरेको हुँदा अन्तिम तहको कारवाहीस्वरुप सम्पत्ति रोक्का तथा लिलाम प्रक्रिया शुरु गरिएको हो ।
उहाँका अनुसार ती करदाताको बक्यौता असुलीका लागि टेलिफोन, पत्राचार, स्थलगत भ्रमण, ताकेतापत्र, सार्वजनिक सूचना प्रकाशित गरी बैंक खाता रोक्का गरिसकिएको छ । बक्यौता नतिर्ने मूल्य अभिवृद्धि करतर्फका करदातामा जय सालासर ट्रेडिङ, सिडब्लु इ–ग्लोबल ज्वाइन्ट भेन्चर, पूर्ण स्टोर्स, त्रिशूल फुड्स प्रालि, आर के सप्लायर्स, एमएल क्षेत्र एण्ड सन्स कन्ट्रक्सन्स, भरतपुर ब्रदर्श कन्ट्रक्सन र श्रेष्ठ सप्लायर्स एण्ड सोलुसन्स प्रालि रहेका छन् ।
त्यसैगरी नवलपुर क्रसर उद्योग प्रालि, पावल निर्माण सेवा, फर्निचर एण्ड फर्निसिङ मार्क, डाइनामिक टावेल, स्वस्तिक नेपाल प्रालि र नेशनल ढुवानी सेवा रहेका छन् । यस्तै आयकरतर्फ नारायणी मैदा मिल्स, आरबी इन्टरप्राइजेज, बज्रगुरु विपी इसान जेबी, प्रकाश टे«डिङ सेन्टर, एयर केयर इन्टरप्राइजेज, श्रीशुभ मोर्टस, जलकन्या सप्लायर्स, युनाइटेड मोटर्स, श्रीजय भोले हार्डवेयर, मचान वाइल्ड लाइफ रिर्सोट, आरके सप्लायर्स र आस्था पेन्ट्स रहेका छन् ।
तिमिल्सिनाका अनुसार मूल्य अभिवृद्धि करतर्फका १५ करदाताको रु १२ करोड १२ लाख बक्यौता बाँकी छ । आयकरतर्फ १२ करदाताको रु तीन करोड ३३ लाख बक्यौता रहेको छ । कार्यालय प्रमुख शुभप्रसाद रिजालका अनुसार मूल्य अभिवृद्धि करमा दर्ता भई रु एक लाखभन्दा माथि बक्यौता रहेका तीन सय करदाताको बक्यौता रु २१ करोड ७० लाख रहेको छ । आयकरतर्फ सबैको बक्यौता रु १५ करोड ३३ लाख रहेको उहाँले बताउनुभयो । विसं २०४० यताको बक्यौता थप हुँदै गएको हो ।
रिजालले कार्यालयले आफ्नो प्रक्रियाअन्तर्गत बक्यौता असुलीका लागि ताकेता गर्दा बेवास्ता गरेपछि अन्तिम कारवाहीस्वरुप सम्पत्ति रोक्का तथा लिलाम प्रक्रिया अघि बढाएको बताउनुभयो । कार्यालयले चितवन र नवलपुर जिल्ला हेर्दै आएको छ । कार्यालयका सूचना अधिकारी धनेश्वर अर्यालले बक्यौता असुलीमा कार्यालय तीव्रगतिमा लागेको बताउनुभयो । उहाँका अनुसार कार्यालयले चालू आर्थिक वर्षको फागुन मसान्तसम्ममा रु १७ अर्ब ५६ करोड १४ लाख ९९ हजार राजश्व सङ्कलन गरेको छ ।
साउनयता फागुन मसान्तसम्ममा लक्ष्यको १०३ दशमलव ३७ प्रतिशत राजश्व सङ्कलन गरेको हो । चालू आर्थिक वर्षको मसान्तसम्मका लागि रु ३० अर्ब एक करोड ३६ लाख ५३ हजार लक्ष्य तोकिएको छ । कार्यालयमा आयकरतर्फ ५१ हजार ९८८ र मूल्य अभिवृद्धिकरमा आठ हजार ४३५ करदाता रहेका छन् । यस्तै अन्तःशुल्क करमा दर्ता भएका पाँच हजार ८० करदाता रहेका छन् ।