२९ जेठ २०८३, शुक्रबार

बारा–पर्सा आँधी प्रकरणः घाइते थप एकको मृत्यु, मृतकको संख्या २८ पुग्यो

बारा–पर्सा आँधी प्रकरणः घाइते थप एकको मृत्यु, मृतकको संख्या २८ पुग्यो

    काठमाडौँ–बारामा आइतबार राति आएको हुण्डरी (भीषण हुरी)मा परेर घाइते भएकामध्ये एक जनाको आज उपचारका क्रममा मृत्यु भएको छ । 

    वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचाररत बाराका पाँच वर्षीय बालक फ्याज आलमको आज निधन भएको गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाले जनाएको छ । 

    महाशाखाका अनुसार अहिलेसम्म बारा र पर्सामा आएको हुण्डरीमा परेर मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । मृत्यु हुनेमा बाराका २७ र पर्साका एक जना रहेको गृह मन्त्रालय, विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका उपसचिव वेदनिधि खनालले जानकारी दिए । 

उनका  अनुसार हुण्डरीमा ६६८ घाइते भएकामा ३१७ जना उपचारपछि घर फर्किएका छन् । नौ जनाको काठमाडौँस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अन्यको स्थानीय अस्पताल तथा मेडिकलमा उपचार भइरहेको केन्द्रले जनाएको छ । दुई जिल्लामा गरेर एक हजार ५६१ घर प्रभावित भएकामा बाराको मात्रै एक हजार ५०२ घर परेका छन् ।

    गृह मन्त्रालयले दिएको जानकारीअनुसार बाराको फेटा गाउँपालिका–१, ६ र ७, कलैया उपमहानगरपालिका–१२ र १३, सुवर्ण गाउँपालिका–१, ४, ५ र ८, पर्साैनी–४, महागढीमाई गाउँपालिका–७ तथा पर्साको वीरगञ्ज महानगरपालिका–१८ र २२ मा क्षति पुगेको छ । अहिले राहतको व्यवस्थापनको काममा स्थानीय तह, प्रशासन कार्यालय र सुरक्षाकर्मी र समुदाय सक्रिय रहेका छन् । काठमाडौँबाट गएको सेना र प्रहरीको चिकित्सक टोलीलगायत विभिन्न क्षेत्रबाट गएका स्वास्थ्यकर्मीले सेवा दिइरहेका छन् ।

    क्षतिको विवरण भने सङ्कलनका क्रममा रहेकाले यकिन विवरण आइनसकेको प्रहरीले जनाएको छ । खाद्यान्न लत्ताकपडा, त्रिपाललगायत वितरणको काम जारी रहेको मन्त्रालयले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्