
विराटनगर- आइतवार प्रदेश नं २ को बारा र पर्सा जिल्लामा भएको विनाशकारी हावाहुरीका कारण विस्थापित परिवारको लागि राहत संकलन र वितरणको कार्य जारी छ ।
हावाहुरीसँगै प्रभावित परिवार र मृतकका परिवारका लागि भन्दै देशका धेरै क्षेत्रबाट राहत संकलन र घोषणा भएको छ । संघीय सरकारले घर बनाउने जनाएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मृतकका परिवारलाई ५ लाखका दरले रकम सहयोग गर्ने बताएका छन् भने प्रदेश सरकारको आकस्मिक बसेको बैठकले ज्यान गुमाएका परिवारलाई ३ लाखका दरले सहयोग दिने निर्णय गरेको छ । कतिपय प्रदेशले करोडको घोषणा गरेका छन् भने कांग्रेस तथा अन्य दलहरूले पनि लाखौं सहयोगको घोषणा गरेका छन् भने जनताको तहबाट पनि राहत संकलन गर्ने काम भइरहेको छ ।
बारा र पर्सामा आएको विनाशकारी हावाहुरीबाट प्रभावित भएका परिवारलाई हिसान मोरङले १ लाख सहयोग गरेको छ । हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलको नेतृत्वमा गएको टोलीले प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीलाई १ लाखको चेक हस्तान्तरण गरेको हो ।
त्यसैगरी विराटनगरमा रहेको एनसेल कोशी परिवारले ३६ हजार बराबरको राहत सामाग्री संकनल गरेका छन् । त्यस्तै लायन्स क्लब अफ विराटनगर मोरङ, लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनल र विराटनगर भन्सार एजेन्टले ३ लाख बराबरको राहत सामाग्री लिएर हावाहुरी प्रभावित ठाउँमा पुगेको छ ।
विराटनगर महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको एक दिनको तलव बारा र पर्साका हावाहुरी प्रभावितलाई दिने घोषणा गरेका छन् । जम्मा भएको तलवको रकमबाट आवश्यक सामाग्री खरीद गरी पीडामा परेका परिवारलाई प्रदान गरिने मेयर भीम पराजुलीले जानकारी दिए ।
विराटनगरकी अनुजा कोइरालाले ६ हजार, नितम चौलागाइ १० हजार, गोपाल काफ्ले ७ हजार, चेतन निरौला ५ हजारलगायत नगदसहित जीवन जल, चाउचाउ, कपडासमेत संकलन गरी प्रभावित क्षेत्रमा लगिएको छ ।