२८ असार २०८३, आइतबार

आँधिबेहरी प्रभावित क्षेत्रमा भारतको राहत वितरण, नेपालले चाहे थप सहयोग गर्न तयार

चैत २०, २०७५
आँधिबेहरी प्रभावित क्षेत्रमा भारतको राहत वितरण, नेपालले चाहे थप सहयोग गर्न तयार

बारा -पर्सा र बारामा आइतवार आएको विनाशकारी आँधिहुरीबाट प्रभावित क्षेत्रमा भारतीय सरकारले राहत सामग्री वितरण गरेका छन् । बिरगंजस्थित भारतीय महावाणिज्य दुतावासले भक्तपुर निवासी मन्जित मल्लको सहकार्यमा बुधवार राहतका सामग्रीहरु वितरण गरेको हो । बारा जिल्लाको सुवर्ण गाउँपालिका वडा नम्बर ४,५ र ८ का पीडित परिवारलाई भारतीय महावाणिज्य दोतावासले राहत वितरण गरेको हो ।

१ लिटरको २ सय थान रियल जुस, पाल २ सय थान, मिनरल वाटर २ सय कार्टुन र ४ हजार ५ सय वटा चाउचाउ वितरण गरिएको सहकार्यकर्ता मन्जित मल्लले बताए ।  'प्रायः जसो राजनीतिक दल र संघ संस्थाको राहत फेटा गाउँपालिकामै केन्द्रित थियो तर अन्य प्रभावित गाउँमा भने राहतको सामान पुग्न सकिरहेको थिएन, ‘सहजकर्ता मल्लले भने, 'भारतीय महावाणिज्य दूतावासले बारा जिल्लाको प्रमुख जिल्ला अधिकारीको समन्वयमा नै सुवर्ण गाउँपालिकामा राहत वितरण गरेको हो ।’

बुधवार त्यहाँ ७१ प्रभावित घरमा ढोका ढोकामा नै पुगेर राहत वितरण गरिएको थियो । वितरणपछि बाँकी रहेका सामानहरु त्यस गाउँपालिकाका उपाध्यक्ष बबिता यादवलाई र वडा नम्बर ४, ५ र ८ का वडाध्यक्षहरुलाई वितरण गरिदिनका लागि हस्तान्तरण गरिएको मल्लले बताए ।

त्यसै गरी पश्चिमको कैलाली जिल्लामा पनि भारत सरकारले क्षतिको अध्ययन गरेको बाणिज्य दुत बिनोद कुमार लौसालीले बताएका छन् । ‘कैलाली जिल्ला अस्पतालमा पुगेर सनाखत गर्दै मृतक भारतीय चार जना नागरिकको शवलाई निजी गाडी बुक गरेर उनीहरुको घरसम्म पुर्याईएको छ,’ वाणिज्यदुत लैसालीले लोकान्तरसँग भने, ‘अस्पतालमा रहेका घाईतेहरुलाई तत्काल ४० हजार रुपैयाँ बराबरको औषधि सहयोग गरिएको छ ।’

आँधिबेहरी आएकै दिन महावाणिज्य दूतावासका मानिस घटनास्थल पुगेर निरीक्षण गरेकोले अब छिट्टै राहतका सामग्री वितरण गरिने उनले जनाए ।

विपतको घडीमा भारत सरकार सहयोग गर्न तयार

बारा जिल्लामा आएको विनाशकारी शक्तिशाली आँधिबेहरीका कारण नेपालमा भएको घटनाप्रति भारत सरकार अत्यन्तै दुखी भएको महावाणिज्यदुत बीसी प्रधानले बताएका छन् । यस शोकको घडीमा भारत सरकारको तर्फबाट आधिकारिक रुपमा यसअघि नै शोक वक्तव्य जारी गरीसकेको भन्दै प्रधानले लोकान्तरसँग भने, ‘यति ठुलो जनधनको क्षति भएकोमा भारत सरकारको तर्फबाट र म आफ्नो व्यक्तिगत तर्फबाट पनि दुख व्यक्त गर्न चाहन्छु ।’

मृतकको त कुनै क्षतिपूर्ति हुन सक्दैन तर राहत, उद्धार तथा पुनःस्थापनाका कामका लागि सबै प्रकारको सहयोग गर्न भारत सरकार तयार रहेको उनले बताए । यदि नेपाल सरकारले कुनै पनि किसिमको सहयोगको इच्छा जाहेर गरे भारत सरकार त्यसका लागि तयार रहेको महावाणिज्यदुत प्रधानले बताए ।

salt training

कमेन्ट गर्नुहोस्