भीमदत्तनगर, ३ चैत - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन हुन नदिने षड्यन्त्र भइरहेको बताएका छन् |

एमालेले आयोजना गरेको मेची–महाकाली राष्ट्रिय अभियानको आज कञ्चनपुरको भीमदत्तनगरमा समापन गर्दै नेता ओलीले कुनै पनि बहानामा आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय एकता र विकासका लागि एमालेको नेतृत्व आवश्यक रहेको धारणा राख्दै अध्यक्ष ओलीले सङ्क्रमणकाल टुङ्गिन नदिन र विभिन्न जातीय, वर्गीय नाउँमा वैमनश्यता फैलाउन तत्वसमेत सक्रिय रहेको बताए ।
पूर्वप्रधानमन्त्री ओलीले सिमानामा भारतीयले हेपाहा प्रवृत्ति देखाएको आरोप लगाउँदै भने , “गोविन्द गौतमको हत्याको विषयमा भारतले माफी माग्नुपर्छ ।”
नेता माधवकुमार नेपालले तीन वटै तहको निर्वाचन नभए संवैधानिक सङ्कट आउने बताए । निर्वाचन हारजितको विषय नौलो होइन भन्दै उनले लामो समयदेखि निर्वाचन नहुँदा विकास निर्माण प्रभावित हुनाका साथै स्थानीय निकाय जनप्रतिनिधिविहीन बनेको बताए । भारतीय एसएसबीले गौतमको हत्या गरेको विषयमा सरकारले कूटनीतिक पहल नगरेको आरोप पनि उनले लगाए । ‘
महासचिव ईश्वर पोखरेलले संविधान संशोधन आवश्यक नरहेको धारणा राखे । संविधान संशोधन गरेर कसको सेवा गर्न खोजिएको हो भन्ने प्रश्न गर्दै उनले भने , “यसको जवाफ सत्तारुढ नेपाली कांँग्रेस र नेकपा(माओवादी केन्द्र)ले दिनुपर्छ ।” संविधान कार्यान्वयन र निर्वाचन गर्न नदिन षड्यन्त्र भइरहेको जनाउँदै नेता पोखरेलले त्यसको खबरदारी एमालेले गर्ने बताए ।
कार्यक्रममा एक साताअघि भारतीय सीमा सुरक्षा बल(एसएसबी) को गोली प्रहारबाट सहादत प्राप्त गरेका कञ्चनपुर पुनर्वासका गोविन्द गौतमका परिवारलाई एमालेले रु पाँच लाख सम्मानस्वरुप प्रदान गरेको छ ।
सम्बोधनका क्रममा सहिद गौतमको सम्मानस्वरुप नेता ओलीले रु पाँच लाखको चेक र गौतमका छोरीलाई एक थान ल्यापटपसमेत प्रदान गरे । उक्त चेक र ल्यापटप एमाले जिल्ला अध्यक्ष तथा पुनर्वासका बासिन्दा तारा लामा तामाङलाई हस्तान्तरण गरिएको थियो ।