
काठमाडौं – इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु देशकै सबभन्दा लामो कार्यकाल चलाउने प्रम बन्न लागेका छन् ।
आमनिर्वाचनमा उनको लिकुड पार्टी र विपक्षी ब्लु यान्ड ह्वाइट पार्टीले उत्तिनै सीट ल्याएको भए पनि गठबन्धन सरकार बनाउने स्थितिमा उनी नै अग्रस्थानमा छन् ।
९७ प्रतिशत मतगणना भइसक्दा दुवै दलले बराबर ३५ सीट ल्याएका छन् । इजरायलको संसद् नेसेटमा कुल १२० सीट छन् ।
कसैले पनि बहुमत नल्याएको अवस्थामा गठबन्धन सरकार बनाउनुको विकल्प छैन तर नेनान्याहुले दक्षिणपन्थी दलले बढी सहज रूपमा साझेदार जुटाउन सक्ने देखिएको छ । उनका साझेदारमा राष्ट्रवादी, उग्रदक्षिणपन्थी र धार्मिक दलहरू हुनेछन् ।
पूर्व सैनिक जनरल बेन्नी गान्जको नेतृत्वमा रहेको ब्लु यान्ड ह्वाइट पार्टीले साझेदारी गर्न सक्ने दलहरू कमै छन् ।
बुधवार अपराह्नसम्म सबै मतगणना भइसक्ने सम्भावना छ र गठबन्धन बनाउनका लागि हप्तौं लाग्न सक्छ ।
मतपरिणाम प्रस्ट हुनुभन्दा निकै अघि नेतान्याहु र गान्ज दुवैले आफू विजय भएको घोषणा समर्थकहरूमाझ गरिसकेका थिए । एक्जिट पोलले दुवैको बलियो संख्या देखाएपछि उनीहरू हौसिएका थिए ।
नेतान्याहुले मंगलवार विशाल विजयको रात भएको बताए र दक्षिणपन्थी दलहरूसँग कुराकानी गर्न थालिसकेको जानकारी दिए । ती दलहरूले आफ्नो नेतृत्वमा नयाँ सरकार गठन गर्नका लागि इजरायली राष्ट्रपतिसमक्ष सिफारिश गर्न सहमति जनाइसकेको उनले बताए ।
त्यसको एक घन्टाअघि गान्जले पनि हतारमै विजयघोष गर्दै भने, ‘चुनावमा हरुवा पनि हुन्छन्, विजेता पनि हुन्छन् र हामीहरू विजेता हौं ।’
नेतान्याहुमाथि भ्रष्टाचारको आरोप लागेको भए पनि उनी पाँचौं कार्यकालका लागि निर्वाचित हुन लागेका छन् । तर उनले गान्जबाट कडा चुनौतीको सामना गरे । गान्जले नेतान्याहुको विकल्पमा मध्यमार्गी सिद्धान्तसहितको दल बनाएका हुन् ।
नेतान्याहु लगातार १० वर्षदेखि सत्तामा छन् ।
द गार्डियनबाट