
काठमाडौं – तिब्बती धर्मगुरु दलाई लामालाई छातीमा संक्रमण भएपछि भारतको दिल्लीस्थित अस्पतालमा भर्ना गरिएको उनका एक सहयोगीले बताएका छन् । तर यी ८३ वर्षीय धर्मगुरुको स्वास्थ्यस्थिति स्थिर रहेको उनले बताए ।
सन् १९५९ मा चिनियाँ अतिक्रमणविरुद्धको असफल आन्दोलनपछि दलाई लामा भागेर भारतमा शरण लिन पुगेका थिए । उनी भारतको हिमाचल प्रदेशमा रहेको धर्मशालामा बसिरहेका छन् ।
दलाई लामाका निजी सचिव तेन्जिन तक्ल्हाले भने, ‘उहाँले केही असहज अनुभव गर्नुभयो अनि दिल्लीमा स्वास्थ्यजाँच गराउन विमानमा ल्याइयो ।’
‘चिकित्सकहरूले उहाँलाई छातीमा संक्रमण भएको बताएका छन् र उपचार गरिरहेका छन् । उहाँको अवस्था स्थिर छ । उहाँलाई यहाँ दुईतीन दिन उपचार गरिनेछ ।’
भारतमा बस्ने लगभग एक लाख तिब्बतीहरू दलाई लामाको शेषसँगै स्वतन्त्र तिब्बतको संघर्ष सकिने भय लिएर बसेका छन् ।
दलाई लामाले आफ्नो निधनपछि अवतार भारतमा हुन सक्ने अघिल्लो महिना बताउँदै चीनले तोकेको उत्तराधिकारीलाई मतलब नगरिने चेतावनी दिएका थिए ।
यसमा चीनले कडा आपत्ति जनाएको थियो ।
द गार्डियनबाट