२९ जेठ २०८३, शुक्रबार

अमेरिकाको विरोध गर्दै इरानी सांसदले लगाए रेभोल्युसनरी गार्ड्सको बर्दी

अमेरिकाको विरोध गर्दै इरानी सांसदले लगाए रेभोल्युसनरी गार्ड्सको बर्दी

काठमाडौं – अमेरिकाले इरानको सैन्य विभाग रेभोल्युसनरी गार्ड्सलाई विदेशी आतंकवादी संगठनको संज्ञा दिएपछि त्यसको विरोधमा इरानी सांसदहरूले मंगलवार संसदमा गार्ड्सको बर्दी लगाएका छन् । 

उनीहरूले अमेरिका मुर्दाबाद भनी नारा समेत लगाएका थिए । राष्ट्रपति हसन रूहानीले रेभोल्युसनरी गार्ड्स इरानी राष्ट्रको हृदयमा पहिले भन्दा पनि प्यारो गरी बसेको घोषणा गर्दै अमेरिकाविरुद्ध जवाफी कारवाहीको घोषणा गरे । 

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले सोमवार रेभोल्युसनरी गार्ड्सलाई आतंकवादी संगठन घोषणा गरेका थिए । वाशिङटनले कुनै देशको सैन्य विभागलाई आतंकवादी संगठन घोषणा गरेको यो पहिलो घटना हो । यसअघि उसले आईएस र अल कायदा जस्ता गैरराज्य समूहलाई आतंकवादी संगठन घोषणा गर्थ्यो । 

रूहानीले मध्यपूर्व र इरानमा अमेरिकी सैन्य कारवाही चलाउने यूएस सेन्ट्रल कमान्डलाई आतंकवादी संगठन र अमेरिकी सरकारलाई आतंकवादको प्रायोजकका रूपमा सूचीबद्ध गराइने घोषणा गरे । 

‘क्रान्तिकारी संगठनहरूलाई आतंकवादी संज्ञा दिने तिमी को हौ ?’ रूहानीले टीभीबाट प्रसारित भाषणका क्रममा भने । ‘तिमी संसारभरि आतंक फैलाउने नेता हौ । तिम्रो यो गल्तीले इरानीहरूलाई एकताबद्ध गर्नेछ र गार्डहरू इरान तथा यस क्षेत्रमा झन् लोकप्रिय बन्नेछन् ।’

दुई वर्षअघि ट्रम्प ह्वाइट हाउस प्रवेश गरेसँगै तेहरान र वाशिङटनबीचको सम्बन्ध बिग्रेको छ । गत वर्षको मे महिनामा आणविक सम्झौताबाट अमेरिकालाई निकालेपछि ट्रम्पले इरानमाथिको प्रतिबन्ध फेरि लगाएका थिए ।

द गार्डियनबाट
 

salt training

कमेन्ट गर्नुहोस्