३२ असार २०८३, बिहीबार

कैदीले पाए नागरिकता

कैदीले पाए नागरिकता
सांकेतिक तस्वीर

डोटी- जिल्ला प्रशासन कार्यालय डोटीले जिल्लामै पहिलो पटक कारागारमै गएर एक कैदीलाई नेपाली नागरिकता प्रदान गरेको छ । जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका जिल्लाको केआईसिंह गाउँपालिका ५ बस्ने  २१ वर्षीय हरि विकलाई कारागारमै गएर नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । 

'म केही दिन पहिले कारागारमा गएको बेला कैदीका समस्या के छन् भनेर बुझ्दा निजले नागरिकता पाइन भनेर गुनासो गरे,' उनले भने, 'नागरिकता पाउनु नेपालीको नैसर्गिक अधिकार भएकाले कारागारमै गएर नागरिकता दिएका हौं ।'

जिप्रकाका  प्रशासकीय अधिकृत सन्तोष शर्माको हस्ताक्षरमा जारी गरी नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको हो । निजको नागरिकता नभएका कारण निजकी श्रीमतीको नागरिकता तथा छोराछोरीको जन्म दर्ता गराउन समस्या भएको भन्ने जानकारी आएपछि प्रजिअको आदेशमा नागरिकता प्रदान गरिएको शर्माले बताए । उनले भने, 'नागरिकता नहुँदा समस्या भएको रहेछ, सीडीओ साबको आदेशमा हामीले कारागारमै गएर नागरिकता दियौं ।'

विकलाई नागरिकता प्रमाणपत्र प्रदान गरेपछि निजकै सनाखतमा रहने गरी निजकी श्रीमतीले समेत आजै नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रशासकीय अधिकृत शर्माले जानकारी दिए । नागरिकता पाएपछि विक तथा उनकी श्रीमती निकै खुशी भएका छन् । पछिल्लो समय जिल्ला कारागार डोटीमा कैदीलाई सजिलो होस् भन्नाका लागि कारागारमा पुस्तकालय, मानअधिकार तालिम तथा साप्ताहिक रूपमा कैदीको स्वास्थ्य जाँच गर्न थालिएको छ । कारागारमै नागरिकता पाएका दोषी विक विसं २०७४ मा जबर्जस्ती करणीको मुद्दामा पक्राउ परी कैद भुक्तान गरिरहेको कारागार प्रशासनले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्