
ललितपुर- उपराष्ट्रपति नन्दबहादुर पुनले विकास र समृद्धि सबैको साझा एजेण्डा बन्नुपर्ने बताएका छन् ।
ललितपुर उद्योग वाणिज्य संघले बुधवार पुल्चोकमा आयोजना गरेको ‘ललित अन्तर्राष्ट्रिय व्यापार मेला’ को उद्घाटन गर्दै उनले तीन तहको सरकारको साझा एजेण्डा विकास र समृद्धि हुनुपर्नेमा जोड दिए ।
उनले देश अहिले समृद्धिको बाटोमा अघि बढेको औंल्याए । नेपाली जनतामा छोटो समयमा नै खुशी र सुखी हुन पाइयोस् भन्ने अपेक्षा रहेको उनले बताए । उनले भने, 'जनताका यी अपेक्षा पूरा गर्नका लागि संघीय सरकारसँगै स्थानीय सरकार र प्रदेश सरकार पनि लाग्नुपर्छ ।'
सरकारको समृद्धिको नारा साकार बनाउन नेपालमा पर्याप्त स्रोत भएको उपराष्ट्रपति पुनले औंल्याए । भ्रष्टाचार र अनियमितता देशको प्रमुख समस्याका रुपमा रहेको उनले बताए । उनका अनुसार भ्रष्टाचार कम हुन नसक्दा त्यसको असर सबै क्षेत्रमा परेको छ । उनले भने, 'भ्रष्टाचारकै कारण अहिले विकासका लागि छुट्याइएको बजेट बालुवामा पानी हालेजस्तै भएको छ ।'