
काठमाडौं – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीरको विवादित क्षेत्रका विषयमा भारतसँग शान्तिवार्ता यस क्षेत्रका लागि एकदमै महत्त्वपूर्ण कुरा भएको बताएका छन् ।
क्रिकेटरबाट राजनीतिकर्मी बनेका इमरान खान आठ महिनाअघि प्रधानमन्त्री बनेका हुन् । उनले आणविक शक्तिसम्पन्न छिमेकीहरूले मतभेदलाई कुराकानीमार्फत नै हल गर्न सकिने बताए ।
भारतप्रशासित कश्मीरमा हिंसाको घटना भएको केही हप्तापछि भारतमा आमचुनाव हुन लागेको छ ।
पुलवामामा भारतीय सुरक्षाबलमाथि आत्मघाती आक्रमण गरिएपछि भारतले पाकिस्तानको बालाकोटमा अतिवादीहरूको शिविरमा हवाई आक्रमण गरेको बताएको थियो ।
भारतका प्रधानमन्त्रीलाई के सन्देश दिन चाहनुहुन्छ भनी सोधिएको प्रश्नमा इमरान खानले बीबीसीका जोन सिम्पसनलाई भने, ‘कश्मीर मुद्दाको समाधान निकालिनुपर्छ र यस मुद्दालाई लामो समयसम्म चर्काइराख्नु हुँदैन ।’
उनले भने, ‘दुवै सरकारको पहिलो काम भनेकै गरीबी घटाउने र आपसी मतभेदलाई वार्तामार्फत हल गर्ने हो । त्यो मतभेदको विषय नै कश्मीर हो ।’
तर भारतका प्रधानमन्त्रीले चुनाव प्रचार अभियानमा पाकिस्तानविरोधी बयानबाजी गरिरहेका छन् र राष्ट्रिय सुरक्षामा जोड दिएका छन् ।
धेरै मानिसले यो चुनाव हिन्दू राष्ट्रवादी भाजपाको ध्रुवीकरण राजनीतिमाथिको जनमतसंग्रह जस्तो भएको बताए ।
बिहीवारदेखि मतदान शुरू हुन लागेको छ र मे महिनामा अन्तिम चरणको मतदान हुनेछ ।
बीबीसी विश्व मामिलाका सम्पादक जोन सिम्पसनका अनुसार, आठ महिनाको कार्यकालमा इमरान खानले एकदमै कम अन्तर्वार्ता दिएका छन् । त्यसैले उनले बीबीसी र अन्य बेलायती तथा अमेरिकी समाचार संस्थाको सानो समूहलाई भेट्न बोलाएपछि उनको उद्देश्य भारतको आमचुनावअघि एउटा सन्देश दिनु रहेको बुझिएको थियो ।
उनले भारतसँग मित्रताको हात बढाएको स्पष्ट थियो ।
इमरान खानले वातावरणलाई सहज बनाउने आवश्यकता अनुभव गरिरहेको कुरा साँचो हो ।
पाकिस्तानको अर्थव्यवस्था खराब छ । भारतसँगको तनावपूर्ण सम्बन्ध र आफ्नो इलाकामा अतिवादी मुसलमानी समूहलाई खुला छुट दिएको आरोपका कारण पाकिस्तानमा विदेशी लगानीकर्ता आउन चाहेका छैनन् ।
तर इमरान खानले जोड दिएर यी आरोपलाई अस्वीकार गरेका छन् ।
उनको दाबी छ, पहिलेका सरकारले अतिवादी समूहहरूमाथि यति ठूलो कारवाही गरेको थिएन ।
उनका लागि हरेक कुरा कश्मीर समस्याको समाधानमा निर्भर छ ।
भारत र पाकिस्तानले यसको कुनै समाधान खोजेमा अन्य सबै कुरा सजिलै हल हुन्छन् ।
इमरानले मंगलवार रोयटर्स समाचार संस्थासँग पनि कुराकानी गरे । उनले कुराकानीका क्रममा मोदी फेरि प्रधानमन्त्री बने भने शान्तिको सम्भावना झनै राम्रो हुने बताए ।
उनले भने, ‘दक्षिणपन्थी पार्टी भाजपाले जितेमा कश्मीरका विषयमा कुनै प्रकारको सम्झौता हुन सक्छ ।’
अन्य पार्टीहरू चाहिँ दक्षिणपन्थीहरूको आलोचनाको डरका कारण कुनै सम्झौता गर्न हिचकिचाउन सक्छन्, उनले बताए ।
बीबीसी हिन्दीबाट