
काठमाडौँ–धेरै मूल्यमा डलर साट्ने भनी नक्कली नोट मिसाएर ठगी गर्ने तीन जनालाई महानगरीय प्रहरी परिसर काठमाडौँले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिन्धुलीको दुधौली घर भई हाल काठमाडौँ नेपालटार बस्ने वर्ष ३३ का उमेश घिसिङ, सोही ठाउँका प्रेम घिसिङ र दानबहादुर घिसिङ रहेको प्रहरीले जनाएको छ । उनीहरू दाजुभाइ हुन् । उनीहरूले काठमाडौँको नयाँ बसपार्क, बालाजु, माछापोखरी, सामाखुशी र गौशाला क्षेत्रलाई मुख्य आधार बनाइ विदेशबाट फर्किएकालाई बढी मूल्य दिइ डलर सटही गर्ने बहानामा ठगी गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।
डलरलगायत अन्य विदेशी रकम बढीमा साट्ने भनी सक्कली नोटभित्र नक्कली राखेर ठगी गरेको अनुसन्धानमा खुलेको परिसरका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिनुभयो । उनीहरू यसअघि पनि ठगी मुद्दामा जेल बसेर छुटेका हुन् । पक्राउ परेकाहरू ठगीसहित लुटपाट र चोरीमा समेत संलग्न भएको प्रहरीले जनाएको छ ।
यसैबीच चैत २६ गते काठमाडौँको तिनकुनेमा रहेको एनसिसी बैंकको एटिएम मेसिन फोडी चोरी गर्ने प्रयास गरिरहेको अवस्थामा रामेछापका विशाल तामाङलाई महानगरीय प्रहरीवृत्त बानेश्वरबाट पक्राउ गरेको परिसरले आज एक विज्ञप्तिमार्फत जनाएको छ । उनीहरूका साथबाट हतौडा, फलामको छिनो, मार्तोल बरामद गरिएको छ ।