काठमाडौं, २ पुस — राष्ट्र र राज्य सम्बन्धी नेपालको मौलिक रैथाने अवधारणा प्रस्ट पार्ने एक पुस्तक शनिवार लोकार्पण गरिएको छ ।

डा. निर्मलमणि अधिकारी र डा. गोविन्दशरण उपाध्यायको संयुक्त लेखन रहेको पुस्तक 'राज्यराष्ट्र : अवधारणा र सिद्धान्त' काठमाडौंमा विमोचन भएको हो ।
पुस्तकका बारेमा टिप्पणी गर्दै मधेशवाणीका डा. राजेश अहिराजले पुस्तक सूत्र जस्तो भएको र अहिले चलेको उग्रराष्ट्रवादी लहरका बेला वास्तविक राष्ट्रियता के हो यो पुस्तक पढेपछि थाहा लाग्ने बताए ।
त्यस्तै, वाल्मीकि विद्यापीठका प्राध्यापक माधवप्रसाद पाण्डेले पुस्तक बुझ्न कठिन भएकोले सरल बनाउन लेखकद्वयलाई सुझाव दिए ।
अन्य टिप्पणीकर्ता निर्मल थापा, बिनु अधिकारी र याम बहादुर दुराले पुस्तकले मौलिक अवधारणा ल्याएको भन्दै प्रशंसा गरे ।

युरोपकेन्द्रित राष्ट्रियताको सिद्धान्तले जनतामा विभाजन ल्याउने भएकाले त्यसको साटो समन्वयवादी राज्यराष्ट्र सिद्धान्त ल्याइएको डा. अधिकारी र डा. उपाध्यायको दाबी छ ।
रामहरि शर्मा र अर्जुन शर्माले प्रकाशित गरेको पुस्तक जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्तिले वितरण गरेको हो ।