२३ जेठ २०८३, शनिबार

महोत्तरीमा २६८ एचआईभी सङ्क्रमित

महोत्तरीमा २६८ एचआईभी सङ्क्रमित

बर्दिवास- महोत्तरी जिल्लामा एचआईभी सङ्क्रमितको सङ्ख्या २६८ पुगेको छ । एचआईभी जाँचका लागि स्वेच्छिक रक्त परीक्षण र उपचार सेवा दिँदै आएका जलेश्वर अस्पताल र नेपाल परिवार नियोजन संघ महोत्तरी परियोजना बर्दिवासले यस्तो तथ्यांक देखाएका हुन् ।

सन् २००७ देखि एचआईभी र विभिन्न यौनरोगबारे परामर्श, स्वेच्छिक रक्तपरीक्षण र उपचार सेवासमेत दिँदै आएको जलेश्वर अस्पतालले अहिलेसम्म २१८ सङ्क्रमित भेटिएको जनाएको छ । यसैगरी नेपाल परिवार नियोजन संघ महोत्तरी परियोजनाले सन् २०१२ को अन्त्यसम्म ४९ र यसै वर्ष (विसं २०७५) गत अक्टुबरमा रक्त परीक्षणबाट थप एक सङ्क्रमित पाइएपछि यो सङ्ख्या ५० पुगेको परियोजना प्रमुख धीरज पौडेलले जानकारी दिए । सन् २०१३ को प्रारम्भदेखि यस वर्षको सेप्टेम्बरसम्म एचआईभी जाँचका लागि रक्तपरीक्षण गर्न सेवाग्राही आएका भए पनि त्यस अवधिमा सङ्क्रमित नपाइएको परियोजनाले जनाएको छ ।

जलेश्वर अस्पतालमा भने चालू आर्थिक वर्ष २०७५/७६ को गत साउनयता हालसम्म रक्त परीक्षण गर्न आएकामध्ये १९ सङ्क्रमित पाइएको जनाएको छ । अस्पतालमा कूल सङ्क्रमितमध्ये ११६ महिला, ८५ पुरुष र तीन तेस्रो लिंगी रहेको अस्पतालका मेडिकल सुपरीटेन्डेण्ट डा. राजीवकुमार झाले जानकारी दिए । उक्त सङ्ख्याभित्र १२ वर्षमुनिका १४ बालबालिका रहेको अस्पतालले जनाएको छ । त्यसैगरी परियोजनामा भेटिएका ५० सङ्क्रमितमध्ये ३१ पुरुष र १९ महिला छन् । दुवै ठाउँको सङ्क्रमित सङ्ख्या जोड्दा महिला १३५ र पुरुष ११६ देखिन्छ ।
 
जिल्लामा वैदेशिक रोजगारीमा गएका र तिनका परिवारजन बढीजसो एचआइभी सङ्क्रमित पाइएका छन् । हालसम्म आफ्नो प्रयोगशालाको परीक्षणबाट सङ्क्रमित पाइएका ३१ पुरुष सबै वैदेशिक रोजगारबाट फर्केका पाइएको परियोजनाले जनाएको छ । त्यस्तै सङ्क्रमित १९ महिलामध्ये छ सङ्क्रमित पुरुष (पति) का पत्नी रहेका परियोजनाले जनाएको छ । त्यसैगरी जलेश्वर अस्पतालमा पनि वैदेशिक रोजगारबाट फर्केका पुरुष नै सङ्क्रमितमध्ये ८० प्रतिशत रहेको डा झाको भनाइ छ ।
 
जिल्लामा कूल सङ्क्रमित सङ्ख्यामध्येका १९ बालबालिका भने गर्भैदेखि सङ्क्रमित भेट्टाइएको अस्पताल र परियोजनाको तथ्याङ्कमा उल्लेख छ । पछिल्ला वर्षहरूमा विभिन्न स्वास्थ्य संस्था, स्वयंंसेवी संस्था, एड्स तथा यौन रोगविरुद्धका सघन सचेतना अभियान र परिवार नियोजनको अस्थायी साधन कण्डमको प्रयोग बढेसँगै एचआईभी सङ्क्रमण घटेको परियोजनाको ठम्याइ छ । यता जलेश्वर अस्पतालले भने सङ्क्रमित हुने क्रम खासै नघटेको जनाएको छ । जिल्लाको उत्तरी क्षेत्रमा सङ्क्रमितले सुरक्षित यौन सम्बन्ध बढाएका र दक्षिणी क्षेत्रमा त्यसमा असावधानी हुँदा एउटै जिल्लामा पनि क्षेत्रगत सङ्क्रमित वृद्धिदर फरक परेको स्वास्थ्यकर्मी बताइएको छ ।
 
जिल्लामा सङ्क्रमितको तथ्याङ्कअनुसार सबै नै असुरक्षित यौन सम्पर्कको कारण पाइएको दुवै रक्त परीक्षण केन्द्रले जनाएका छन् । विदेश जानेमा पाइएको सङ्क्रमण पनि भारत र मलेशियाबाट फर्केकाहरूमा बढी पाइएको परियोजनाले जनाएको छ ।

यसैबीच स्वास्थ्यक्षेत्रमा काम गर्दै आएका सामाजिक सङ्घसंस्थाले विदेशबाट फर्कनेहरूलाई विमानस्थल र दुई देशीय सीमाक्षेत्रमा अनिवार्य एचआइभी परीक्षण गरेर मात्र प्रवेशको व्यवस्था गर्न राज्य पक्षसँग माग गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्