
काठमाडौं – गुल्मी जिल्लाको मुसिकोट नगरपालिका १ च्यानडाँडामा बिहीवार भएको जीप दुर्घटनामा नेपाली कांग्रेसका पूर्वसांसद रूद्रमणि शर्मा भण्डारीको निधन भएको छ ।
मालिकाको दर्लिङबाट बुटबलका लागि छुटेको लु१ज १९५७ जीप बिहान ९ बजे दुर्घटनामा परेको हो । दुर्घटनामा परी गुल्मीका पूर्वसासंदसमेत रहेका धुर्काेट गाउँपालिका–५ वस्तु निवासी वर्ष ६५ का भण्डारीको निधन भएको हो ।
२०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा गुल्मी क्षेत्र नम्बर–३ बाट भण्डारी विजय भएका थिए । जिल्लामा भण्डारीलाई सरल र मृदुभाषी नेताको रुपमा चिन्ने गरिन्थ्यो ।
पदमा रहँदा वा नरहँदा उनले जिल्लाको विकास र जनताको सेवाका लागि लागि पर्ने गरेको जिल्लाका नेताहरू बताउँछन् ।
गुल्मी क्षेत्र नम्बर १ का सांसद एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भण्डारीलाई अत्यन्त सरल, मृदुभाषी, निष्ठावान र विकासप्रति समर्पित नेताको रुपमा स्मरण गरेका छन् ।
‘गुल्मी जिल्लाको तत्कालीन निर्वाचन क्षेत्र नम्बर ३ बाट विजयी पूर्वसांसद, नेपाली कांग्रेसका नेता एवं अत्यन्त सरल, मृदुभाषी, निष्ठावान र विकासप्रति समर्पित नेता रूद्रमणि शर्मा भण्डारीको दुःखद निधनबाट स्तव्ध भएको छु । उहाँसँगका सहकार्यका पलहरू झलझली सम्झिरहेको छु,’ नेकपाका नेता ज्ञवालीले सामाजिक सञ्जाल ट्विटरमा सन्देश लेखेका छन् ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शालिन र भद्र अनि लोकतन्त्रलाई आफ्नो जीवन पद्दतिमा उतार्ने नेताको निधनको खबरले आफूलाई मर्माहत बनाएको बताएका छन् ।
‘कांग्रेस गुल्मीका पूर्व सभापति तथा पूर्व सांसद रूद्रमणि शर्मा भण्डारीको आज नेटामा भएको जीप दुर्घटनामा परी निधन भएको खबरले मलाई मर्माहत बनाएको छ । शालिन र भद्र अनि लोकतन्त्रलाई आफ्नो जीवन पद्दतिमा उतार्ने नेता भण्डारी २०४८ सालमा गुल्मीको तत्कालीन क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसबाट सांसद निर्वाचित हुनुभएको थियो । उहाँको निधनले नेपाली कांग्रेस र मुलुकको लोकतन्त्रलाई अपुरणीय क्षति पुगेको छ,’ कांग्रेस नेता पौडेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले रुद्रमणिको स्मरणगर्दै लेखेका छन- 'रुद्रमणि नेपालको प्रजातान्त्रिक आन्दोलनका योद्धा, कर्मठ, सरल स्वभावका धनी, प्रजातान्त्रिक मुल्य र मान्यतामा अविचलित, नैतिकवान व्यक्तित्व । निरन्तरताको प्रतिक !'