
काठमाडौं – भारतमा लोकसभा निर्वाचनको पहिलो चरणको मतदान भइरहेको छ ।
मतदानका क्रममा नागपुरको मतदान केन्द्रमा संसारकी सबभन्दा होची महिलाले भोट हालेकी छन् ।
गिनिज बूक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाएकी ज्योति आमगेले बिहीवार मत दिएकी हुन् ।
ज्योतिको उचाइ जम्मा ६३ सेन्टीमिटर छ । भोट हाल्न गएकी ज्योतिलाई देखेर मानिसहरू छक्क परेका थिए ।
रातो चेक स्लीभलेस लुगा लगाएर ज्योतिले मत दिएकी थिइन् । आफ्नो मताधिकार प्रयोग गर्नका लागि उनी धैर्य गरी लाइनमा उभिएकी थिइन् ।
मतदानपछि नङमा लगाइएको मसी देखाउँदै ज्योतिले मिडियालाई भनिन्, ‘म सबैजनालाई भोट हाल्न आग्रह गर्छु । कृपया पहिला भोट हाल्नुस् अनि अन्य काम गर्नुस् ।’
भोट हाल्नका लागि ज्योतिले मतदान कर्मचारीको टेबलमा उभिन परेको थियो । उनले भोटर लिस्टमा नाम चेक गर्न पनि टेबलमा उभिनुपरेको थियो ।
नागपुरमा केन्द्रीय मन्त्री नितिन गडकरी चुनाव लडिरहेका छन् । त्यहाँबाट कांग्रेसले गडकरीविरुद्ध नाना पटोलेलाई उठाएको छ ।
एजेन्सी