
काठमाडौं – भारतमा कांग्रेस पार्टीले केन्द्रीय गृहमन्त्री राजनाथ सिंहलाई एक पत्र लेखेर आफ्ना दलका अध्यक्ष राहुल गान्धीको सुरक्षामा घात गरिएको आरोप लगाएको छ । लोकसभा निर्वाचनका लागि बुधवार अमेठीमा मनोनयन पत्र दाखिला गर्ने क्रममा गान्धीको सुरक्षामा घात गरिएको कांग्रेसको आरोप छ ।
गान्धीको शिरमा हरियो लेजर घरिघरि गरी सातचोटि ताकिएको कांग्रेसको दाबी छ ।
‘पूर्व सुरक्षाकर्मी लगायत विभिन्न व्यक्तिले भिडियोको अध्ययन गर्दा यो लेजर स्नाइपर बन्दूक जस्तो हतियारबाट आएको हुन सक्ने निष्कर्ष निस्कन्छ,’ कांग्रेसी नेताहरूको पत्रमा उल्लिखत छ । ‘यस्तो सम्भावनाले गम्भीर चिन्ता जन्माएको छ र गान्धीको सुरक्षामा दखल परेको देखिएको छ ।’
गान्धीले मिडियाकर्मीसँग साक्षात्कार गरिरहेको भिडियो क्लिप पनि उनीहरूले दिएका छन् ।
Congress President @RahulGandhi addresses the media on today's Supreme Court judgement on the Rafale Deal.#ChowkidarChorHai #AbHogaNyay #RafaleDeal pic.twitter.com/5PnTuUY24d
— Congress (@INCIndia) April 10, 2019
गान्धी परिवारका दुई सदस्य इन्दिरा गान्धी र राजीव गान्धीको सुरक्षामा चुक भएका कारण आतंकवादीहरूले हत्या गरेको स्मरण गराउँदै कांग्रेस नेताहरूले सुरक्षा जोखिमका विषयमा तत्कालै कारवाही गर्न आग्रह गरेका छन् ।
तर गृह मन्त्रालयले कांग्रेसको पत्र प्राप्त नगरेको जनाएको छ । भिडियोमा देखिएको हरियो प्रकाश मोबाइल फोनबाट भिडियो खिच्दा निस्केको गृह मन्त्रालयको जिकिर छ । राहुल गान्धीको सुरक्षामा कुनै खोट नरहेको पनि उसले जनाएको छ ।
दी इन्डियन एक्सप्रेसबाट