
काठमाडौं – अमेरिकाका दुवै प्रमुख दलका धेरैजसो सांसदहरूले विकिलिक्सका संस्थापक जुलियन असान्ज पक्राउ परेको खबरमा खुशियाली मनाएका छन् ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विकिलिक्स भनेको के हो आफूलाई थाहै नभएको बताएका छन् जबकि उनले सन् २०१६ मा चुनावी अभियानताका ‘म विकिलिक्स मन पराउँछु’ भन्ने गरेका थिए ।
असान्जलाई लन्डनस्थित इक्वेडोर दूतावासबाट बिहीवार बेलायती प्रहरीले घिसार्दै ल्याएर पक्राउ गरेको थियो । ‘कम्प्युटर अतिक्रमणको षड्यन्त्र गरेको’ आरोपमा अमेरिकाले उनीमाथि जारी गरेको पक्राउपुर्जीका आधारमा बेलायती प्रहरीलाई उनलाई पक्राउ गरेको हो ।
पक्राउको खबर आएपछि सिनेटर जो मान्चिन सीएनएनको न्यु डे शोमा आएका थिए र उनले खुशी हुँदै असान्ज अब ‘हाम्रो सम्पत्ति भएको र हामीले उनीबाट तथ्य र सत्य पत्ता लगाउने’ बताए ।
अमेरिकाले असान्जविरुद्ध लगाएको अभियोग सन् २०१० मा गोप्य अमेरिकी दस्तावेजको प्रकाशनसँग सम्बन्धित छ । डेमोक्रेट तथा ट्रम्पविरोधी रिपब्लिकनहरूले विकिलिक्स संस्थापक क्रेमलिनको एजेन्ट भएको भन्दै तर्क गर्ने गरेका छन् ।
‘पुटिन र रुसी सरकारका लागि हाम्रो निर्वाचनमा हस्तक्षेप गरेकोमा उनलाई जवाफदेही बनाइने म आशा गर्छु,’ डेमोक्रेट पार्टीका तर्फबाट सिनेटर चक शुमरले ट्वीट गरे ।
इन्टेलिजेन्स कमिटीका अध्यक्ष रिचर्ड बरले असान्ज र विकिलिक्स रुसी जासूसी संस्थाको एक अंगका रूपमा वर्षौंदेखि काम गरिरहेको बताए ।
अन्य सांसदहरूले पनि असान्जको पक्राउमा खुशी व्यक्त गर्दै बयान दिएका छन् ।
आरटीबाट