काठमाडौं ४ चैत्र–राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा गोविन्दराज पोखरेलले भूकम्पपछिको सामाजिक पूनर्निर्माणको काम सबैभन्दा कठीन रहेको बताएका छन् ।
शान्ति शिक्षा अभियान नेपालले ललितपुरमा शुक्रवार आयोजना गरेको कार्यक्रममा पोखरेलले सामाजिक पुनर्निर्माणको काम धेरै बाँकी रहेको उल्लेख गर्दै त्यसमा हरेक समुदाय तथा सामाजिक संघ संस्थाको भुमिका आवश्यक र महत्वपूर्ण हुने बताएका हुन् ।

सामाजिक, भौतिक र आर्थिक पुनर्निर्माणको कामलाई सँगै लिएर जान सके मात्र सहि अर्थमा पुनर्निर्माण हुने पोखरेलले बताए ।
‘ पुनर्निर्माण ढिला भयो भन्ने गुनासो पनि छ, तर पुनर्निर्माण ढिलो भयो भन्दा पनि राम्रो भयोकि भएन भन्ने महत्वपूर्ण हो ’ उनले भने । अभियानले ललितपुरका जिल्ला शिक्षा कार्यालय अन्तर्गतका १५ वटा स्रोत केन्द्रलाई ल्यापटप हस्तान्तरण गरको छ । ल्यापटप हस्तान्तरण गर्दै पोखरेलले भने, ‘सिंहदरवारले पुनर्निर्माणका लागि माहौल बनाउने हो । काम समुदाय, सामाजिक संघसंस्था र व्यक्ति स्वयंले नै गर्ने हो ।’
विभिन्न व्यक्ति तथा संस्थाहरुको आर्थिक सहयोग जुटाइ शिक्षा क्षेत्रमा योगदान गर्दै आएको अभियानले ३ करोड रुपैयाँ पूननिर्माण तथा विद्यालय शिक्षामा खर्च गरेको संस्थाका अध्यक्ष रविन्द्र महर्जनले बताए ।