
काठमडौं – सोलुखुम्बुस्थित लुक्ला विमानस्थलमा एक विमान हेलिकप्टरसँग ठोक्किँदा २ जनाको मृत्यु भएको छ । समिट एयरको विमान उड्ने क्रममा धावन मार्गबाट चिप्लिएर मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएको हो ।
उक्त दुर्घटनामा २ जनाको मृत्यु हुनुका साथै ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रहरी इन्स्पेक्टर प्रदीप सुवेदीका अनुसार मृत्यु हुनेमा समिट एयरको विमानका को–पाइलट सुजित ढुंगाना र विमानस्थलमा ड्यूटीमा खटिएका प्रहरी सहायक निरीक्षक रामबहादुर खड्का छन् ।
विमानका पाइलट रविनाथ रोकाया, हेलिकप्टरका पाइलट चेतबहादुर गुरुङ र प्रहरी सहायक निरीक्षक रुद्रबहादुर श्रेष्ठ घाइते छन् ।
रोकाया र श्रेष्ठलाई सिम्रिक र गुरुङलाई मनाङ एयरको हेलिकप्टरमा काठमाडौं पठाइएको इन्स्पेक्टर सुवेदीले जानकारी दिए ।
बिहान ९ बजेर १० मिनेटको समयमा लुक्लाबाट रामेछापका लागि उड्न लागेको विमान चिप्लिएर पार्किङमा रहेको हेलिकप्टरसँग ठोक्किन पुगेको थियो ।
त्यसक्रममा विमानले ड्यूटीमा रहेका प्रहरीलाई समेत ठक्कर दिएको थियो ।