२६ जेठ २०८३, मंगलबार

शुरू भयो ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैंक खाता खोलाउने राष्ट्रिय अभियान

शुरू भयो ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैंक खाता खोलाउने राष्ट्रिय अभियान
फाइल फोटो

काठमाडौं -नयाँ वर्षका अवसरमा सरकारले ज्येष्ठ नागरिक स्वास्थ्य बीमा र सबै नेपालीलाई बैंक खाता खोलाउने राष्ट्रिय अभियानको शुभारम्भ गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न ज्येष्ठ नागरिकको उपस्थितिमा ‘ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा समृद्धिसँग जोडौँ नाता, सबै नेपालीको बैँक खाता’ राष्ट्रिय अभियानको शुभारम्भ गरेका हुन् ।

आइतवार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले १०० वर्षीया जमुना गुरुङ सहित ५५ जना ज्येष्ठ नागरिकलाई स्वास्थ्य बीमाको प्रमाणपत्र हस्तान्तरण गरे ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, स्वास्थ्य बीमा बोर्ड, नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स एसोसिएसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रममा ज्येष्ठ नागरिकका लागि एक लाखसम्मको स्वास्थ्य बीमा घोषणा गरिएको हो । सो बीमाको प्रिमियम नेपाल सरकारले तिर्नेछ ।

यस्तै 'सबै नागरिकलाई बैंक खाता' कार्यक्रमको शुभारम्भ भने प्रधानमन्त्री ओलीले आफ्ना बुवा र राधिका शाक्यकी आमाको नाममा खाता खोलेर गरे ।

हाल मुलुकका ७५३ स्थानीय तहमध्ये ७१३ तहमा संस्थागत वित्तीय पहुँच पुगेको छ भने चालू आर्थिक वर्षको अन्त्यसम्मका सबै तहमा वित्तीय पहुँच पुग्ने बताइएको छ ।

हालसम्म बैंक खाता नखोलेका नागरिकका लाागि खाता खोल्न लाग्ने रु एक सय दस्तुर सरकारले नै तिर्ने गरी यो अभियान शुभारम्भ भएको हो । 

सबै स्थानीय तहमा वित्तिय पहुँच पुगेपछि सबै प्रकारका भुक्तानी बैंकबाट हुनेछ । यसले वित्तीय साक्षरता, सामाजिक सुरक्षा, समावेशीता र समृद्धिको आधार तय गर्ने विश्वास गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्