२४ जेठ २०८३, आइतबार

फिनल्यान्डमा निर्वाचन : वामपन्थी नेता रिन्ने निर्वाचित हुने आँकलन

फिनल्यान्डमा निर्वाचन : वामपन्थी नेता रिन्ने निर्वाचित हुने आँकलन

काठमाडौं – फिनल्यान्डमा आइतवार भइरहेको आमनिर्वाचनमा वामपन्थी नेता प्रधानमन्त्री बन्ने सम्भावना देखिएको छ । 

मतसर्वेक्षणहरूले चाहिँ वामपन्थी सोसियल डेमोक्रेट्सलाई शासन चलाउन अप्ठ्यारो हुने अनि राष्ट्रवादी समूह फिन्स पार्टीप्रतिको समर्थन बढेको देखाएका छन् । फिनल्यान्ड लगायतका नर्डिक मुलुकहरूमा आप्रवासीविरुद्धको लहर बढिरहेकाले दक्षिणपन्थीहरूप्रति समर्थन बढेको छ । 

सरकारी टीभी इलेले गराएको सर्वेक्षणमा सोसियल डेमोक्रेटहरूले कुल मतको १९ प्रतिशत प्राप्त गरेर पहिलो दल बन्ने र उक्त दलका नेता एन्टी रिन्नेले सरकार बनाउन सक्ने देखाएको छ । 

फिन्स पार्टी चाहिँ १६.३ प्रतिशत समर्थनका साथ दोस्रो स्थानमा छ । सन् २०१९ को प्रारम्भदेखि विदेशी पुरुषहरूले फिनल्यान्डमा बालबालिकामाथि यौन दुर्व्यवहारको सिलसिला नै सार्वजनिक भएपछि फिन्स पार्टीप्रतिको समर्थन बढेको छ । 

रिन्नेले चाहिँ आप्रवासका सम्बन्धमा आफ्नो दलको मध्यमार्गी नीति रहेको बताएका छन् । फिनल्यान्डमा ज्येष्ठ नागरिकको संख्या बढ्दै जाँदा कामदारको संख्या परिपूर्ति गर्न आप्रवासी कामदार भित्र्याउने अनि केही शरणार्थीलाई मानवीय आधारमा शरण दिने उनले बताएका छन् । 

यी ५६ वर्षीय पूर्व युनियन लीडरले नागरिक सुविधाका लागि र आर्थिक असमानतासँग लड्नका लागि कर बढाउने प्रतिज्ञा गरेका छन् । बहालवाला प्रधानमन्त्री जुहा सिपिलाको मध्यमार्गी दक्षिणपन्थी गठबन्धनले आर्थिक असमानता बढाएको रिन्नेको आरोप छ । 

उनले कर बढाउने कुरा गर्दा पनि समर्थकहरू नभड्किने सम्भावना छ किनकि धेरैजना फिनल्यान्डको कल्याणकारी राज्यको प्रशंसा गर्छन् । 

तर फिन्स पार्टीले बढी मत ल्याएमा रिन्नेले गठबन्धन बनाउन गाह्रो देखिन्छ । अर्थमन्त्री पेट्टेरी ओर्पोको नेसनल कोएलिसन चाहिँ तेस्रो स्थानमा आउने देखिन्छ । ओर्पोले रिन्नेका आर्थिक नीति गैरजिम्मेवार रहेको बताएको छ । 

रिन्नेले आप्रवासीविरोधी कट्टरपन्थी जस्सी हाल्ला–आहोको नेतृत्वमा रहेका राष्ट्रवादीसँग मिलेर सरकार बनाउने सम्भावना खारेज गरेका छन् ।

द गार्डियनबाट

salt training

कमेन्ट गर्नुहोस्