
काठमाडौं – इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले देशमा सम्पन्न राष्ट्रपति निर्वाचन जितेको बताएका छन् । प्रारम्भिक मतगणनामा उनले ५४ प्रतिशत मत पाएको देखिएको छ ।
दक्षिणपूर्वी एसिया तथा अन्य क्षेत्रका २० नेताले आफूलाई दोस्रो कार्यकाल सुरक्षित गरेकोमा बधाई दिएको उनले पत्रकारहरूलाई बताए ।
प्रतिष्ठित सर्वे संस्थाहरूले मतदान केन्द्रहरूका नमूनाको शीघ्र गणनाका आधारमा मत अनुमान गरिन्छ । विडोडोले शत प्रतिशत नमूना मतदान केन्द्रको गणना भइसकेको बताए । यस्ता शीघ्र गणनाहरू पहिलेका चुनावमा सही ठहरिने गरेका थिए ।
विडोडोका प्रतिद्वन्द्वी पूर्व जनरल प्रबोवो सुबियान्तोले बुधवार सम्पन्न निर्वाचनमा ६२ प्रतिशत मत पाएको दाबी गरेका छन् । आफ्नो निर्वाचन अभियानको गणनामा त्यो दाबी आधारित रहेको उनले भने । सन् २०१४ मा उनी विडोडोसँग हार्दा पनि यस्तै दाबी गरेका थिए ।
निर्वाचन आयोगले आधिकारिक परिणाम मे २२ सम्ममा सार्वजनिक गर्नुपर्छ ।
बुधवार सम्पन्न चुनावमा ८०.५ प्रतिशत मतदान भएको सुरक्षामन्त्री विरान्तोले बताए ।
एपीबाट