०२ असार २०८३, मंगलबार

सुरक्षित वैदेशिक रोजगारीका लागि सूचनामूलक एप ‘शुभयात्रा’को सुनौलो अन्लाइन कक्षा आरम्भ

सुरक्षित वैदेशिक रोजगारीका लागि सूचनामूलक एप ‘शुभयात्रा’को सुनौलो अन्लाइन कक्षा आरम्भ

काठमाडौं – सुरक्षित वैदेशिक रोजगारीका लागि सूचनामूलक एन्ड्रोइड एप ‘शुभयात्रा’ले एपमा सुनौलो कक्षा नाम दिइएको निःशुल्क रूपमा भर्ना हुन सकिने विशेष अन्लाइन कोर्स शुरू गरेको छ । 

यसमा स्वाध्ययन गर्न मिल्ने खालका अन्तर्क्रियात्मक सामग्रीहरू राखिएका छन् । साथै, वैदेशिक रोजगारीमा जान चाहने नेपालीलाई लक्षित गरी शुभयात्राले नयाँ रिवार्ड योजना शुरू गरेको छ । 
दिइएका कोर्समा सहभागी भई एप प्रयोगकर्ताहरूले पचास रुपैयाँ वा बढी रिवार्ड प्राप्त गर्न सक्नेछन् । शुभयात्राले रिवार्डका लागि खल्ती डिजिटल वालेटसँग सहकार्य गरेको छ ।

अहिले शुभयात्राको सुनौलो कक्षामा विदेशी भाषा, वित्तीय साक्षरता, रोजगार सम्झौता पत्र, सीप लगायत अन्य वैदेशिक रोजगारीसँग सम्बन्धित एक दर्जन भन्दा बढी कोर्सहरू उपलब्ध छन् । 

एपमा उपलब्ध कुनै पनि कोर्स पूरा गरिसकेपछि ५० रुपैयाँ वा बढीको रिवार्ड कूपन प्राप्त हुनेछ । यसरी प्राप्त गरेको कूपन खल्तीमार्फत उपलब्ध सबै प्रकारका सेवाको डिजिटल भुक्तानी जस्तै मोबाइल रिचार्ज गर्ने, बिजुलीको महसूल तिर्ने, इन्टरनेटको बिल तिर्ने, फिल्म टिकट किन्ने आदि कार्यको लागि प्रयोग गर्न सकिनेछ । 

साथै, हरेक कोर्सको अन्तिममा दिइएको क्विज पूरा गरिसकेपछि प्रमाणपत्र र थप रिवार्ड कूपन प्राप्त गर्न सकिनेछ । 

‘नेपालमा कुनै पनि ई–लर्निङ प्लाटफर्मले अन्लाईनमा उपलब्ध कोर्सहरूमा सहभागीहरूलाई यसरी रिवार्ड कूपन र अन्य उपहारहरू प्रदान गर्न थालेको यो पहिलोपटक हो । नेपालमै पहिलोपटक यस्तो तरिकाले रिवार्ड योजना शुरू गर्न पाउँदा हामी उत्साहित छौं,’ द एसिया फाउन्डेसनकी नेपाल प्रतिनिधि मेगन नाल्बोले बताइन् ।

सुनौलो कक्षामा उपलब्ध कुनै पनि कोर्स पूरा गरिसकेपछि आफ्नो मोबाइल नम्बर दाखिला गरेर रिवार्ड कूपन प्रयोग गर्न सकिनेछ । विदेशमा हुनुभएका सहभागीहरूले नेपालमा रहेका आफ्ना आफन्तहरूको मोबाइल नम्बर दाखिला गरी उक्त कूपन प्रयोग गर्न सक्नेछन् ।

धेरै नेपाली जाने देशहरू मलेसिया, कतार, साउदी अरब, यूएई र कुवेतबारे सम्पूर्ण जानकारीहरू राखिएको यस एपले विदेश जाने सोचिरहेकाहरूलाई कसरी सुरक्षित तरिकाबाट जाने भनेर सचेत गराउने, विदेश जानको लागि कागजपत्रहरू बनाइरहेकाहरूलाई राम्रोसँग कागजपत्र बनाउन तथा ठगीबाट जोगिने तरिका सिकाउने तथा विदेशबाट नेपाल फर्किन चाहानेहरूलाई नेपाल फर्किएर व्यापार व्यवसाय गर्न के गर्ने तथा अवसरहरू कता खोज्ने भन्ने बारेमा जानकारी दिन्छ । 

शुभयात्रा एपबारे
शुभयात्रा वैदेशिक रोजगारीमा जाने र जान चाहने युवालाई सुसूचित गराउने हेतुले सञ्चालन गरिएको एउटा एन्ड्रोइड एप हो । 

विदेशमा रहेका नेपालीहरूको सहयोगमा ‘द एसिया फाउन्डेसन’ले सन् २०१६ मा सञ्चालनमा ल्याएको यो एपमा हाम्रो पात्रो, खल्ती डिजिटल वालेट, विकास उद्यमी, शेयरकास्ट इनिसिएटिभ र विकास उद्यमी लगायत सातवटा संस्थाहरूको संयुक्त सहकार्य रहेको छ ।

एपमा विदेशमा काम गर्ने कामदारलाई आवश्यक पर्ने जानकारीलाई सजिलै प्रयोग गर्न सकिने श्रव्य, दृश्य, फेसबूक लिंक तथा लिखित सामग्रीहरू राखिएको छ । एपमा समावेश गरिएका सामग्री सबै नेपाली भाषामा राखिएको छ । 

कसरी डाउनलोड गर्ने शुभयात्रा एप  ?

शुभयात्रा एप एन्ड्रोइड मोबाइलका लागि तयार पारिएको हो । एन्ड्रोइड फोनको गुगल प्लेस्टोरमा गएर शुभयात्रा टाइप गरेर अथवा वेबमा गएर www.shuvayatra.org मा क्लिक गरी शुभयात्रा एप डाउनलोड गर्न सकिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्