१२ असार २०८३, शुक्रबार

बेसहारा वृद्व दम्पतीलाई घुम्टे युवा परिवारद्वारा खाद्यान्न तथा लत्ताकपडा सहयोग

बेसहारा वृद्व दम्पतीलाई घुम्टे युवा परिवारद्वारा खाद्यान्न तथा लत्ताकपडा सहयोग

बाग्लुङ – सामाजिक संस्था घुम्टे युवा परिवार मल्म बाग्लुङले गलकोट नगरपालिका–९ छिसका बेसहारा वृद्व दम्पतीलाई खाद्यान्न र ओछ्यान सेट सहयोग गरेको छ ।

संस्थाका सल्लाहकार संयोजक एवं वडा नम्बर ७ का वडाध्यक्ष सुवेदार टीकाबहादुर थापा र वडा नम्बर ९ का वडा सदस्य धर्मदत्त सापकोटाको विशेष उपस्थितिमा छिसका ७८ वर्षीय चन्द्रबहादुर रामजाली उनकी श्रीमती ८० वर्षीय सरस्वती रामजालीलाई २ बोरा चामल, दाल, नुन, तेल, चिनी, चियापत्तीसँगै ओछ्यान सेट सहयोग प्रदान गरिएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापा सन्देशले जानकारी दिए ।

१० हजार रुपैयाँ बराबरको सामग्री रामजाली निवासमै पुगेर सहयोग गरिएको अध्यक्ष थापाले बताए । बेसहारा रामजाली परिवारलाई दिनहुँ छाक टार्न मुस्किल हुँदै आइरहेको र यसले थोरै भएपनि राहत पुग्ने स्थानीय पत्रकार मित्र खरेलले बताए । राहत हस्तान्तरणपछि रामजाली दम्पती खुशी भएका छन् । उनीहरूले संस्थाको थप उन्नति र प्रगतिको समेत कामना गरेका छन् ।

गलकोट नगरपालिका–९ का वडा सदस्य धर्मदत्त सापकोटाले सामग्री ग्रहण गरेका थिए । रामजाली परिवार सरकारले प्रदान गर्ने वृद्वभत्ताकै भरमा जीवन बिताइरहेको समाचार केही हप्ता पहिले सामुदायिक रेडियो गलकोट एफएम १०२ थोप्लो ४ मेगाहर्जले प्रशारण गरेपछि यसको प्रभाव परेको छ । उनीहरूलाई बिहान बेलुका छाक टार्न दैनिक उपभोग्य सामग्री र न्यानो ओछ्यानको अभाव भएको भन्दै संस्थाले खाद्यान्न तथा कपडा सहयोग गरेको संस्थाका कार्यवाहक सचिव प्रकाश थापाले बताए ।

विक्रम संवत् २०४१ सालमा स्थापना भएको संस्थाले स्थानीय स्तरमा समय–समयमा तालिम, गोष्ठी, युवा जागरण कार्यक्रम, टोल सरसफाइ, जनचेतनामूलक कार्यक्रम, विकृति–विसंगति न्यूनीकरण अभियानसँगै खेलकुद कला संस्कृतिको संरक्षण र पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउँदै आएको कोषाध्यक्ष सन्त भण्डारीले बताए ।

सामग्री सहयोग कार्यक्रममा कार्यसमितिका पदाधिकारी, जनप्रतिनिधि, स्थानीय समाजसेवी, स्थानीय, पत्रकार लगायतको उपस्थिति थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्