
काठमाडौं – भारतमा बिहीवार सम्पन्न लोकसभा निर्वाचनको दोस्रो चरणमा एउटा अनौठो घटना भएको छ ।
उत्तर प्रदेशको बुलन्दशहरमा बस्ने पवन कुमारले झुक्किएर भारतीय जनता पार्टीलाई मत दिएपछि चोरी औंला काटेको बताएका छन् ।
उनी बहुजन समाज पार्टीलाई मत दिन चाहन्थे तर भोटिङ मशिनमा भएका अनेकौं चिह्न देखेर झुक्किएको बताउँछन् ।
मतदान गरेपछि सबै मतदाताको चोरी औंलामा नमेटिने मसी लगाउने गरिन्छ ।
‘मैले हात्तीमा मत दिन खोजेको थिएँ तर झुक्किएर कमलमा भोट हालेछु,’ उनले भने ।
भाजपाको चुनाव चिह्न कमल हो भने बसपाको चिह्न हात्ती हो । क्षेत्रीय दलहरू बसपा र सपाले आरएलडीसँग गठबन्धन गरेर सत्तारूढ भाजपालाई हराउने योजना बनाएका छन् ।
भारतीय निर्वाचनमा दलका चुनाव चिह्नको ठूलो भूमिका हुन्छ किनकि निरक्षर जनता भएका क्षेत्रमा ती चिहेन चिन्न सहज हुन्छ । असंख्य क्षेत्रीय दल र तिनको गठबन्धन भएका कारण मतदाताहरू झुक्किने गरेका छन् ।
कुमार दलित समुदायका व्यक्ति हुन् र उक्त समुदाय बसपाको भोटबैंक हो ।
बिहीवारको मतदान भारतका शक्तिशाली क्षेत्रीय दलका लागि महत्त्वपूर्ण छन् । ती दलले आफ्ना राज्यको राजनीतिमा प्रभाव जमाएका छन् ।
बीबीसीबाट