
पोखरा- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारविरुद्ध आन्दोलन चर्काउने बेला आएको बताएका छन् । नेपाली कांग्रेस सार्दीखोला इकाईद्धारा नवनिर्मित बीपी स्मृति भवनको शुक्रवार उद्घाटन गर्दै सभापति देउवाले सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका हुन् ।
उनले वर्तमान सरकारका कारण आम नागरिक र पत्रकारले समेत दुःख पाएको बताए । ‘यो सरकार आएपछि देशमा हत्या, हिंसा र बलात्कारका घटना भइरहेका छन् । महंगी र कालाबजारी बढीरहेको छ,’ उनले भने, ‘सरकार अपराधीलाई कारवाही गर्दैन । सरकारले मुलुकमा लुटतन्त्र मच्चाइरहेको छ ।’
सभापति देउवाले सरकार लाचार बनेको बताउँदै अब कांग्रेसले खबरदारी गर्ने बताए । पार्टीभित्रका मनमुटाव र असन्तुष्टि हटाउँदै पार्टीलाई संगठित गर्ने काममा आफू लागि परेको देउवाको दाबी थियो ।
केन्द्रीय सदस्य धनराज गुरुङले देश अहिले दुईतिहाईको चंगुलमा फसेको वताए । उनले बालुवाटारको जग्गा समेत हडप्ने कम्युनिष्ट नेताहरु इतिहासमा कलंक सावित भएको टिप्पणी गरे । वर्तमान प्रधानमन्त्री ओलीको चरित्र र व्यवहार भ्रष्ट भएको गुरुङले आरोप लगाए ।
इकाई सभापति गुञ्जमान गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा अर्जुन जोशी, कास्की सभापति कृष्ण केसी लगायतले बोलेका थिए ।
भवन निर्माणका लागि पूर्व अध्यक्ष आशवहादुर गुरुङले ८ आना जग्गा दिएका थिए । करीब ९० लाखको लागतमा सो भवन तयार भएको गाउँ इकाईका अध्यक्ष गुञ्जमान गुरुङले जानकारी दिए । भवनमा सभाहल सहित ४ कोठा रहेका छन् ।