
काठमाडौँ। हुलाकी राजमार्ग हुँदै धनुषा र सिरहा जोड्ने ४७० मिटर लामो कमला पुल निर्माण सुरु भएको आठ वर्ष बित्यो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने समयसीमा निर्धारण गरिएको थियो । तीन पटक म्याद थप भए पनि पुल निर्माण नहुँदा गत मङ्सिर ३० गते ठेक्काको म्याद सकियो ।
हुलाकी राजमार्ग निर्देशनालय जनकपुर इकाईका सूचना अधिकारी कमल साहले मङ्सिरपछि म्याद थप नभएको जानकारी दिए। पप्पु लुम्बिनी जेभीले निर्माण ठेक्का पाएको उक्त पुलको निर्माण अलपत्र छ ।
सिरहा बसबिट्टाका ६० वर्षीय हुसेनी धुनियाँ भन्छन्, ‘कमला नदीको पुल र हुलाकी राजमार्ग दुवैको निर्माणले पूर्णता पाउनेमा आशा मारेका छौँ ।’ धुनियाँले तीनदशकदेखि सिरहा र धनुषाको ग्रामीण बजारमा स्थानीय उत्पादनको खरीद बिक्री गर्दै आएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघमा एक खर्ब १८ अर्ब रुपियाँ लागत भएका एक हजारभन्दा बढी आयोजना अलपत्र रहेको अध्ययन प्रतिवेदन सार्वजनिक गरेपछि त्यस्ता योजनाको निर्माण, कार्यान्वयनको अवस्था यतिबेला व्यापक चर्चाको विषय बनेको छ ।
“योजना समयमै पूरा नहुँदा सरकार र राजनीतिप्रति सर्वसाधारणको अनास्था बढ्छ” जनकपुरधामका अर्थविद् एवम् प्राडा भोगेन्द्र झा तर्क गर्छन् । उनी अलपत्र आयोजनाको आर्थिक र सामाजिक नोक्सानी त झनै धेरै भएको बताए ।
आयोगले ‘क्रोनिक’ नाम दिएका यस्ता एक हजार ३२ आयोजनाको विषयमा अहिले सबैतिर चासो बढेसँगै प्रधानमन्त्री कार्यालयले सम्भवतः वैशाखको दोस्रो सातामा यस विषयमा छलफल गर्ने तयारी गरेको छ ।
कमला पुल र हुलाकी सडक त नाजुक योजनाका उदाहरण मात्रै हुन् । पाल्पाको रामपुरमा निर्माणाधीन कालीगण्डकी पुल वा बूढीगण्डकी, पश्चिम सेती जस्ता राष्ट्रिय गौरवका जलविद्युत् आयोजना पनि वर्षौदेखि कुरामा सीमित छन् । गाेरखापत्र दैनिकमा खबर छ ।