
धनगढी- उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासको आदेश नमानेको भन्दै कैलालीका दाना व्यवसायीहरूले शनिवार पशु क्वारेन्टाइन गड्डाचौकी चेकपोष्ट कैलालीमा तालाबन्दी गरेका छन् ।
अदालतको आदेशपछि ३ दिन कुरेको तर पशु क्वारेन्टाइनले आदेशको अटेर गर्दै आफूहरूलाई दु:ख दिने नियतले आलटाल गरेपछि बाध्य भएर तालाबन्दी गरेको बताएका हुन् । नवीन दाना उद्योगका सञ्चालक दिनेश लम्सालले कैलाली उद्योग वाणिज्य संघ धनगढीको अगुवाइमा पशु क्वारेन्टाइनविरुद्ध थप सशक्त संघर्ष गर्ने पनि चेतावनी दिए ।
पशु क्वारेन्टाइनले चैत २० गतेदेखि दाना उद्योगीहरूको कच्चा पदार्थ बोकेको गाडी आयातमा रोक लगाएको छ । क्वारेन्टाइनले भारतीय क्वारेन्टाइनको स्वस्थ्यताको प्रमाणपत्र भए मात्रै गाडी छोड्ने अडान लिएपछि व्यवसायीहरूले उच्च अदालमा रिट हालेका थिए । अदालतले कच्चा पदार्थ चेकजाँच गर्दै तत्काल गाडी छोड्न अन्तरिम आदेश दिएको थियो । तर क्वारेन्टाइनले गाडी छोड्न र अदालतको आदेश मान्न अटेरी गरेपछि तालाबन्दी गरेको व्यवसायी लम्सालको भनाइ छ ।
चैत २० गतेदेखि क्वारेन्टाइनले भन्सारमा झण्डै ३ करोड बराबरको सामान रहेको १४ वटा ट्रक रोकेको बताइएको छ ।
त्यस्तै अदालतको आदेशपछि पनि भारतबाट ल्याइएको कच्चा पदार्थ नछोड्ने क्वारेन्टाइनविरुद्ध कडा संघर्ष गर्ने कैलाली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझाले बताए ।