
पोखरा –पोखरामा शुरु भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्याराग्लाइडिङतर्फ पहिलो दिन एक्यूरेसी र क्रसकन्ट्री खेलको पहिलो चरणको प्रतियोेगिता सम्पन्न भएका छन । पहिलो दिनमा खेलिएको खेलमा पुरुष एक्यूरेसी र क्रसकन्ट्री टीम बीचको प्रतिस्पर्धा भएको थियो। त्यसैगरी दुबै इभेन्टका इन्डिभिजुअल तर्फ मिश्रित परिणाम आएको छ ।
खेलमा एक्यूरेसी तर्फको नेपाली सेनाले १०७ अंकका ल्याएर प्रथम स्थान हाँसिल गरेको छ। त्यस्तै गण्डकी प्रदेशले १८५ अंक ल्याएर दोश्रो स्थान हातपारेको छ भने ३३१ अंकका ल्याएर प्रदेश नम्बर १ तेश्रो स्थान सरक्षित गर्न सफल भएको छ।
त्यसै सुदूरपश्चिमले प्रदेश ११७० अंक पाएर चौथो स्थान लिएको छ । १८९६ अंकका हातपारेर प्रदेश ३ पाँचौ स्थान लिन सफल भएको छ भने कर्णाली प्रदेशले ३१३५ अंक ल्याएर छैटौ स्थान जितेको छ।
इन्डिभिजुअल एक्यूरेसी पुरुषतर्फ नेपाली सेनाका सागर नेपाली ८ अंकका ल्याएर प्रथम स्थान बनाउन सफल भए। गण्डकी प्रदेशका अनिष भट्टराईले ११ अंक ल्याएर दोश्रो स्थान हासिल गरे। त्यसै गरि नेपाली सेनाका सागर जलारी ५०१ अंकका ल्याएर तेश्रो स्थानमा चित्त बुझाएका छन् ।
महिला इन्डिभिजुअल एक्यूरेसीमा गण्डकी प्रदेशकी सबिता तामाङले २७४ अंक ल्याउन सफल भइन्।
यस्तै प्रदेश नं ३ की बिबी सिङताङले ३६१ अंक पाएर दोश्रो स्थान हासिल गरिन्।
त्यसैगरी तेश्रो स्थानमा गण्डकी प्रदेशकी प्रतिभा बोगटीले ५०१ अंक ल्याएकी थिइन्। तामाङ र बोगटी १८ औं एशियाली खेलकुदमा सहभागी भएका खेलाडी समेत हुन ।
पहिलो दिन भएको क्रसकन्ट्रि (एक्सी) इभेन्ट तर्फ पहिलो राउण्डमा ३२ किलोमिटर टास्क सम्पन्न भएको छ । उक्त इभेन्टमा ३ महिला र १९ पुरुष सहित कूल २२ जना खेलाडी सहभागी रहेको नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघ (नेफा)का महासचिब शैलेन्द्र राउतले जानकारी दिए ।
क्रसकन्ट्री तर्फ सहभागी जनाएका २२ खेलाडी मध्ये पुरुष इन्डिभिजुअल खुल्ला तर्फ प्रदेश ३ का कृष्ण बहादुर सुनुवार ९७२ अंक हासिल गर्दै पहिलो स्थान बनाउन सफल भए। यसैगरी नेपाली सेनाका विशाल थापाले ९०६ अंक हासिल गरी दोश्रो स्थान जिते भने गण्डकी प्रदेशका शेर बहादुर गुरुङले ९०६ अंक ल्याएर तेश्रो स्थान हात पारे। दोश्रो स्थानका बिशाल १८ औं एशियाली खेलकुदमा रजत पदक जितेका थिए ।
क्रसकन्ट्री महिला इन्डिभिजुअलमा गण्डकी प्रदेशकी त्रिशा बमजन तामाङ २३१ अंकका ल्याइ पहिलो स्थान बनाउन सफल भइन्। दोस्रो स्थानका लागि नेपाली सेनाकी स्वस्तिका गुरुङले २६ अंक ल्याइन्। प्रदेश १ की सुष्मिता सुनुवार २४ अंक ल्याएर तेश्रो स्थान हासिल गरिन्।
यसैगरी टिम क्रसकन्ट्री तर्फ गण्डकी प्रदेशले अग्र स्थान बनाउन सफल भएको छ । गण्डकी प्रदेश ३२९९ अंक ल्याएर पहिलो स्थान बनाएको छ। प्रदेश ३ ले ३१५९ अंक पाएर दोश्रो र नेपाली सेनाले २७१७ अंक जोडेर तेश्रो स्थान बनाएको छ ।
नेपालको खेल इतिहासमा पहिलो पटक राष्ट्रिय खेलकूद प्रतियोगितामा समावेश भएको खेलमा विभागिय टिम नेपाली सेना र ५ प्रदेश गरि कुल ६ टिमका ५९ जना खेलाडी सहभागी रहेका छन् । प्रतियोगिता बैशाख ९ गते सम्पन्न हुने छ। प्रतियोगितामा एक्युरेसी तर्फ ५ राउण्ड र क्रसकन्ट्रीतर्फ ३ राउण्ड प्रतिस्पर्धा गराइने छ ।