
सोलुखुम्बु- सगरमाथा सरसफाइ अभियानअन्तर्गत यस क्षेत्रमा संकलन गरिएको एक टन फोहर काठमाडौं लगिएको छ ।
नेपाली सेनाको हेलिकप्टरमार्फत एक टन किलो फोहर काठमाडौं र एक टन फोहर ओखलढुंगा लगिएको अभियानमा सहभागी संस्था सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।
विभिन्न भागमा वर्गीकरण गरी संकलन गरिएको फोहरलाई सोहीअनुसार व्यवस्थापन गर्ने गरी पठाइएको हो । स्थानीयस्तरमा व्यवस्थापन गर्न सकिने वस्तुलाई नाम्चे क्षेत्रमानै व्यवस्थापन गरिएको छ ।
कुहिने वस्तुसहितको फोहरलाई ओखलढुंगा र नकुहिने क्यान, सिसाको बोत्तल जस्ता प्रशोधन गर्न सकिने फोहोर वस्तुलाई काठमाडौं पठाइएको निकुञ्जका प्रमुख प्रमोद भट्टराईले जानकारी दिए । १२ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा खुम्बुको क्षेत्रको लुक्लादेखि स्याङ्बोचे क्षेत्रमा संकलन भएको फोहर पठाइएको प्रमुख भट्टराईको भनाइ छ ।
उनका अनुसार वैशाख १ गतेबाट शुरू भएको सरसफाइ अभियानमा खुम्बु पासाङल्हामु गाउँपालिका, नेपाली सेना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण विभाग, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र सगरमाथा प्रदुषण नियन्त्रण समितिको सहभागिता रहेको थियो ।