१५ असार २०८३, सोमबार

पाँच न्यायाधीशले लिए शपथ

पाँच न्यायाधीशले लिए शपथ

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सर्वाेच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आइतवार आयोजित विशेष समारोहमा शपथ लिनेमा नवनियुक्त न्यायाधीश प्रकाशकुमार ढुङ्गाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र डा. मनोजकुमार शर्मा हुन् ।  

उनीहरूमध्ये ढुङ्गाना र माथेमा उच्च अदालतको मुख्य न्यायाधीश हुन् भने रेग्मी, फुँयाल र शर्मा कानून व्यवसायी हुन् । प्रधानन्यायाधीश राणाले सोही समारोहमा नवनियुक्त प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई पद तथा गोपनीयताको शपथ गराए । उनी नेपाल सरकारको सचिव थिए ।

राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. शान्तराज सुवेदीबाट सोही समारोहमा उक्त आयोगका नवनियुक्त सदस्य विष्णुमाया ओझाले पद तथा गोपनीयताको शपथ लिएका थिए । नवनियुक्त सदस्य ओझासँग लामो समय अधिकारकर्मीका रूपमा काम गरेको अनुभव छ ।

राष्ट्रपति भण्डारीले उनीहरू सातै जनालाई तत् पदमा गत शुक्रवार नियुक्ति गरेका थिए । सर्वाेच्च अदालतका न्यायाधीश न्याय परिषद्को सिफारिसमा तथा प्रमुख निर्वाचन आयुक्त र राष्ट्रिय समावेशी आयोगका सदस्य संवैधानिक परिषद्को सिफारिसमा नियुक्त भएका थिए ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रिगण, संवैधानिक निकायका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकृत र सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति थियो । 

salt training

कमेन्ट गर्नुहोस्