
काठमाडौं, ५ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगले विधानबाट हिन्दु राष्ट्र एवं राजसस्था सम्बन्धी वाक्यांश हटाएकोमा आपत्ति जनाएको छ ।
शुक्रबार निर्वाचन आयोगले संविधानसँग राप्रपाको विधान बाझिएको भन्दै यी वाक्यांश हटाएपछि राप्रपाको आज आपतकालिन बैठक बसेको थियो ।
बैठकपयिछ जारी गरिएको विज्ञप्तीमा राप्रपाले प्रस्तावना र उदेश्यमा उल्लेखित मुलभूत मान्यतालाई हटाएर पार्टीको बिधान परिवर्तन गर्ने गरि निर्वाचन आयोगले गरेको निर्णय आपत्तिजनक भएको बताएको छ ।
प्रवक्ता रोशन कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ , ‘पार्टीको मूलभूत मान्यतालाई नै निषेध गर्ने उक्त निर्णय राप्रपा स्विकार गर्दैन । सो निर्णयवारे पुनर्विचार गर्न राप्रपा निर्वाचन आयोगसंग आग्रह गर्दछ ।’
आयोगको यो निर्णयले आगामी स्थानीय तह चुनावको वातावरण धमिलिन सक्ने चेतावनी राप्रपाले दिएको छ ।
राप्रपा नेपालको संविधान प्रतिबद्ध रहेको भन्दै कतिपय बिषयहरुमा अहसमतिको बाबजुत संविधानको अपनत्व कायम गरेको जनाएको छ ।
नेपालको संबिधानमा राजनीतिक दल गठन गरि सञ्चालन गर्न पाउने र दलको गठन गरी संचालन गर्न, दलको बिचारधारा, दर्शन र कार्यक्रमप्रति जनसाधारणको समर्थन र सहयोग प्राप्त गर्नका लागि त्यसको प्रचार प्रसार गर्ने कार्यमा कुनै प्रतिबन्ध लगाउने गरि बनाईएको कानुन वा गरिएको कुनै व्यवस्था वा निर्णय यो संबिधानको प्रतिकुल मानिने छ र स्वतः अमान्य हुनेछ” भन्ने व्यवस्था रहेको स्मरण गर्दै आयोगको कदम गलत भएको जनाएको छ ।
राप्रपाले निर्वाचन आयोगको कदमको विरोधमा कार्यक्रमहरुसमेत सार्वजनिक गरेको छ ।
जस अनुसार निर्णय पुनर्विचारको निमित्त आग्रह गर्दै सम्पूर्ण जिल्ला सदरमुकाममा यहि चैत ७ गते जुलुस सहित गएर जिल्ला निर्वाचन कार्यालय समक्ष ज्ञापन पत्र बुझाउने र एक घण्टा निर्वाचन कार्यालय अगाडि धर्ना दिने,
काठमाण्डौमा निर्वाचन आयोगको कार्यालय बहादुर भवन अगाडि एक घण्टा धर्ना दिने र आयोग समक्ष ज्ञापन पत्र बुझाउने,
सो निर्णयबाट पार्टीको संबैधानिक हक खोसिएको वारे कानुनी उपचार खोज्ने,
चैतको तेस्रो हप्ताबाट हिन्दुराष्ट्र पुनस्र्थापनाको माग राखेर देशव्यापि शान्तिपूर्ण सडक संघर्ष गर्ने,
धर्मनिरपेक्षताको खारेजी र हिन्दुराष्ट्र पुनस्र्थापनाको लागि तत्काल संसदमा संबिधान संशोधन प्रस्ताव पेश गर्ने तथा सदनमा सशक्त रुपमा आवाज उठाउने घोषणा गरेको छ ।