०२ असार २०८३, मंगलबार

कर्मचारी बस्ने कार्यकक्ष नै पुगेन ललितपुर महानगरपालिकामा

कर्मचारी बस्ने कार्यकक्ष नै पुगेन ललितपुर महानगरपालिकामा

ललितपुर – जिल्लाका विषयगत कार्यालयका कर्मचारी समायोजन भएर आइरहेपनि ती कार्यालयका भवन नहुँदा ललितपुर महानगरपालिकामा भवन अभाव रहेको छ ।

कर्मचारी आइरहेपनि भवन पर्याप्त नहुँदा कर्मचारी व्यवस्थापन गर्न कठिन रहेको महानगरले जनाएको छ । महानगरपालिकाको क्षेत्रभित्र रहेका कुनै पनि विषयगत कार्यालयको भवन महानगर मातहतमा नआएको प्रवक्ता राजु महर्जनले बताए ।

उनका अनुसार विषयगत कार्यालयबाट ५८ कर्मचारी समायोजन भएर आएका छन् । महानगरपालिकामा पहिले नै झण्डै ३ सय कर्मचारी कार्यरत थिए । एकातिर पहिलेबाट नै भवन अभाव रहेकामा महानगरमा नयाँ कर्मचारी आएपछि भवन अभाव अझैं बढेको उनले बताए ।

उनले भने, ‘हामीले सम्बन्धित निकायसँग भवनका लागि माग गरिरहेका छौं ।’ महानगरपालिकाको पुल्चोकस्थित मुख्य भवनबाहेक छ्याबहालस्थित समाज कल्याण भवन र पुल्चोकस्थित विपत् व्यवस्थापन भवन गरेर ३ वटा भवन रहेका छन् । ती तीन भवन मात्रै पर्याप्त नभएकाले थप भवनका लागि माग भइरहेको छ । उनले भने, ‘अरु भवन पनि मातहतमा आएपछि नै कार्यसम्पादन सजिलो हुनेछ ।’

महानगरपालिकाका १० वटा वडामा कार्यालय भवन छैनन् । तीमध्ये पाँचमा गत वर्षदेखि निर्माण शुरू भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्