काठमाडौं, ५ चैत–शनिबार दिनभर विभिन्न घटना भयो । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार शनिबार भएका घटनाको फेहरिस्त यस्तो छः
अवैधरुपमा लैजान लागेको बिदेशी मुद्रासहित पक्राउ
काठमाडौं– नेपाल एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट हङकङ जान लागेकी ललितपुर नखीपोटकी राहदानी नम्बर ०९९८७१०८ बाहक पेमला लामालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुटकेशमा अबैधरुपमा लुकाइछिपाई लैजान लागेको अमेरिकी डलर ३८ हजार ९ सय ५० र हङकङ डलर ६ सय सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
छुरा प्रहारबाट मृत्यु, अभियुक्त पक्राउ
सुनसरी, – धरान उपमहानगरपालिका–१५ गणतन्त्र बस्ती बस्ने २५ वर्षीय साईला भन्ने भक्त राई र ललितटोल बस्ने १९ वर्षीय शुक्र राईको समूहबिच शनिबार एकआपसमा बादबिवाद भई छुरा प्रहार हुँदा गम्भीर घाइते भएका भक्त राईको धरान घोपामा उपचारको क्रममा मृत्यु भएको छ ।
घटनामा संलग्न शुक्र राईलगायत ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।
कुटपिट गर्नेहरु पक्राउ
बारा– केटाकेटीहरु खेल्ने विषयलाई लिएर विवाद हुँदा छिमेकीलाई कुटपिट गर्ने महागढीमाई नगरपालिका–९ बस्ने ५० वर्षीय शिव पुजन साह समेत ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले सोही ठाउँ बस्ने २५ वर्षीया अनितादेवी केशरी समेत ४ जनालाई कुटपिट गर्दा घाइते भएकोले उपचारको लागि नेशनल मेडिकल कलेज वीरगंज पठाइएको छ । घाइतेहरुमध्ये २ जनाको अवस्था गम्भीर र २ जनाको मध्यम रहेको छ ।
गाडिभित्रबाट धनमाल चोरी
काठमाडौं– काठमाडौं महानगरपालिका–३१ भृकुटीमण्डपस्थित बालबालिका तथा गैरसरकारी संस्थाको कार्यालय अगाडि पार्किङ्ग गरी राखेको उक्त संस्थाको बा.७ च ७२२२ नम्बरको गाडीभित्र रहेको आईफोन ३ थान, ल्यापटप १ थान, सिद्धार्थ बैंकको एटिएम कार्ड १ थान र सोही बैंकको चेक १ थान गरी करीव २ लाख ३५ हजार रुपैयाँ बराबरको धनमाल शनिबार बिहान चोरी भएको छ ।
चोरहरुको खोजी गर्नुको साथै प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
सवारी दुर्घटनामा मृत्यु तथा घाइते
मोरङः सुन्दरहरैचा नगरपालिका–८ स्थित पूर्व–पश्चिम राजमार्गमा को.१ ख ४६० नम्बरको बसले बाटो काट्दै गरेको को.११ प ७१६९ नम्बरको मोटरसाइकललाई शनिबार ठक्कर दिँदा भएको दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय होमप्रसाद पौडेलको उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३१ वर्षीय फडिन्द्र पौडेल सामान्य घाइते भएका छन् । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी मोरङ, सुन्दरदुलारी नगरपालिका–६ धर्माकाटास्थित महेन्द्र राजमार्गमा को.५ प ८१३४ नम्बरको मोटरसाइकलले शुक्रबार ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री कोशीहरैचा नगरपालिका–४ बस्ने ३५ वर्षीय रामविलास चौधरीको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको छ । मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३३ वर्षीय दामोदर आचार्य सामान्य घाइते भएकोले ईटहरी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
रामेछाप ः मन्थली नगरपालिका–२ देबीथानस्थित मन्थली–खिम्ती राजमार्गमा बा.१ ज ९६०३ नम्बरको माइक्रोबसले बा.१२ प ८१९४ नम्बरको मोटरसाइकल शुक्रबार ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकल चालक फर्पु–१ बस्ने ४३ वर्षीय भरतबिक्रम खड्काको घटनास्थलमै मृत्यु तथा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार उनका बाबु ६५ वर्षीय राजेन्द्र खड्काको ग्राण्डी अस्पताल धापासी काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । दुवै सवारी साधन र माइक्रोबसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दाङः गोबरडिहा–१ स्थित महेन्द्र राजमार्गमा ट्रक ब्यबसायी समितिमा गाडी ईन्ट्री गर्न जाने क्रममा ना.५ ख ३१५९ नम्बरको बसले ना.६ ख ५४८२ नम्बरको ट्रकका सहचालक सुर्खेत, लेखपराजुल बस्ने १८ वर्षीय बिर्खराज गुरुङलाई शुक्रबार ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौं– काठमाडौं महानगरपालिका–१७ ढल्कु ईन्द्रयाणी मन्दिर परिसरमा ओखलढुंगा माधपुर घर हुने ४० वर्षीय काले मगर नाम गरेका पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
इँटाभट्टाको नहरमा डुबेर मृत्यु
रुपन्देही– सुद्धोधन गाउँपालिका–६ स्थित आरबि इँटाभट्टामा खेल्ने क्रममा इँटाभट्टाको नहरमा डुबेर शनिबार असक्त भएकी सोही इँटाभट्टामा काम गर्ने अशुरैना–८ का संजय शर्माकी छोरी २ वर्षीया सुमन शर्माको उपचारको लागि मेडिकल कलेज भैरहवा लैजानेक्रममा बाटोमै मृत्यु भएको छ ।
वेहोस भएर मृत्यु
काठमाडौंः गोकर्णेश्वर नगरपालिका–१३ दक्षिणढोकास्थित सडक किनारमा शुक्रबार वेहोस अवस्थामा फेला परेका काठमाडौं महांकाल बस्ने ओखलढुंगा, ताप्चा–६ का ६४ वर्षीय कृष्णप्रसाद दाहालको उपचारको लागि शंखरापुर अस्पताल जोरपाटी लैजाने क्रममा बाटैमा मृत्यु भएको छ ।
मुस्ताङः मुक्तिनाथ दर्शन गरी फर्कने क्रममा शुक्रबार अचानक बाटोमा बेहोश भएका भारत आन्ध्रप्रदेशका ६५ वर्षीय फेङका ताश बरारको उपचारको लागि जिल्ला अस्पताल जोमसोम लैजानेक्रममा बाटोमै मृत्यु भएको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
कंचनपुर– पुनर्बास नगरपालिका–९ बस्ने रामबहादुर डगौराको राईस मिलमा गई खेल्ने क्रममा छिमेकी काशीराम डगौराको छोरा १० वर्षीय सुभाष डगौराको अचानक मिलको पट्टामा परी शुक्रबार मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
करेन्ट लागेर मृत्यु
संखुवासभाः बिजुलीबत्तीको स्वीच अफ गर्ने क्रममा शुक्रबार अचानक करेण्ट लागेर गम्भीर घाइते भएका आखिभुई–१ हुमुङ बस्ने २२ वर्षीय नबिन जिमी राईको उपचारको लागि स्थानिय माम्लिङ स्वास्थ्य चौकी लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
बर्दियाः पशुपतिनगर–१ कटेजपुल नजिकै बिजुलीको पोलमा ट्रान्सफर्मरमा फ्युज हाल्ने क्रममा शुक्रबार करेन्ट लागेर गम्भीर घाइते भएका बिजुली समबन्धी काम गर्नेे सोही ठाउँस्थित गणेशपुर बस्ने ३१ वर्षीय राजबहादुर चौधरीको प्राथमिक स्वाथ्य केन्द्र राजापुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
आगलागीबाट धनमाल क्षति
ललितपुरः लतितपुर महानगरपालिका–१४ थसिखेलस्थित तेजप्रसाद पुनमगरको घर पछाडीको टहरोको चुल्होबाट शनिबार आगलागी हुँदा २५ वटा कुखुरा र टहरो जलेर करीव १ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
रुपन्देहीः बुटवल उपमहानगरपालिका–१३ मोतीपुर चोकमा बुटवल–१३ तिनकुने बस्ने प्रविनकुमार भारीको लु.१ च ४९५४ नम्बरको कार स्टार्ट गर्ने क्रममा तार सर्ट हुन गई शुक्रबार आगलागी हुँदा गाडीको अगाडीको भाग पुरै जलेर क्षति भएको छ ।
सप्तरीः सितापुर–१ बस्ने देबपुजम चौधरीको कुखुराको फर्ममा विद्युत सर्ट भई शनिबार आगलागी हुँदा फार्म र कुखुराहरु जलेर करीव १ लाख ७४ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
पाँचथरः नागी–८ बस्ने पुर्णबहादुर खेवाङको कच्ची घरमा शुक्रबार कोही नभएको अवस्थामा आगलागी हुँदा घरको माथिल्लो तला पूर्णरुपले जलेर करीव ३ लाख ४८ हजार रुपैयाँ वरावरको धनमाल क्षति भएको छ ।
दाङः सतबरिया–९ बस्ने मोहन बिकको भान्सा घरबाट हावाहुरीको कारण शुक्रबार आगलागी भई बस्तीमा फैलिँदा निज बिकको भान्साघर र छिमेकीको ३ वटा कच्ची घर समेत जलेर करीव २० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
काभ्रेः ¥याले–५ बस्ने धननारायण श्रेष्ठ र कृष्णनारायण श्रेष्ठको अस्थायी टहरोमा शुक्रबार चुलोबाट आगलागी हुँदा दुवैजनाको टहरा र धननारायणको नगद ५ लाख रुपैयाँ जलेर करीव ९ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
पर्साः बीरगंज उपमहानगरपालिका–१६ बस्ने ५० वर्षीय किरण शर्माको घरमा शुक्रबार करेन्ट सर्ट भई लागलागी हुँदा कोठामा रहेका बिभिन्न किसिमका सामानहरु जलेर करीव २ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । निज शर्मा बेहोश भएकोले उपचारको लागि नारायणी उपक्षेत्रीय अस्पताल बीरगंज पठाएकोमा होशमा आएका छन् ।