काठमाडौं –घरायसी आगलागीबाट बच्ने विषयमा जनचेतना जगाउने उद्देश्यले सरोकार फाउन्डेसन र अतुल्य फाउन्डेसन प्रालिले संयुक्त रूपमा एउटा भिडियो सार्वजनिक गरेका छन् ।
घरमा प्रयोग हुने ग्याँस सिलिन्डरमा लागेको आगोबाट कसरी बच्न सकिन्छ भनेर भिडियोमा देखाइएको छ ।
नेपालको आगलागी सम्बन्धी विपद् व्यवस्थापनको क्षेत्रमा त्यति धेरै काम भएको देखिँदैन । २०७५ सालमा मात्र आगलागीबाट करिब ८९ जनाले ज्यान गुमाएको र त्यसमा बारा जिल्ला बढी प्रभावित भएको नेपाल विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको वेबसाइटले देखाएको छ ।
यस्तो स्थितिमा नेपालमा लामो समयदेखि विपद् व्यवस्थापनको क्षेत्रमा काम गर्दै आइरहेको सरोकार फाउन्डेसन र अतुल्य फाउन्डेसन प्रालिले संयुक्त रूपमा जनचेतना जगाउने उद्देश्यले भिडियो सार्वजनिक गरेका हुन् ।
काठमाडौं महानगरपालिका जुद्ध वारुणयन्त्रका पूर्वप्रमुख किशोरकुमार भट्टराईले ग्याँस सिलिन्डरबाट आगो लाग्दा कसरी निभाउने भनी विभिन्न तरिकाहरू भिडियोमा सिकाएका छन् ।
सरोकार फाउन्डेसनका अध्यक्ष पल्लव पन्तका अनुसार, आम मानिसमा आगलागीका सम्बन्धमा सामान्य जानकारीको समेत अभाव छ । आजको सञ्चारयुगमा मानिसले घरमै बसेर मोबाइलमा हेरी आगलागी नियन्त्रण विषयमा ज्ञान हासिल गर्न सकून् भन्ने उद्देश्यले निर्माण गरिएको पन्तको भनाइ छ ।