०२ साउन २०८३, शनिबार

प्रदेशसभा सचिवालयको सचिवमा गोपाल पराजुली नियुक्त, सभामुखले खुवाए सपथ

बैशाख १२, २०७६
प्रदेशसभा सचिवालयको सचिवमा गोपाल पराजुली नियुक्त, सभामुखले खुवाए सपथ

विराटनगर-  प्रदेश न.१ को प्रदेश सभा सचिवालयको सचिव पदमा नियुक्त भएका गोपाल पराजुलीलाई पद तथा गोपनियताको सपथ गराईएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवमा काम गरिरहेका पराजुलीले निजामती सेवाबाट राजिनामा दिएलगत्तै उनलाई प्रदेश सभा सचिवमा नियुक्त गरिएको हो ।

बिहीवार प्रदेश सभा सचिवालयमा एक कार्यक्रमको आयोजना गरी पराजुलीलाई सभामुख प्रदिपकुमार भण्डारीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । पराजुली उमेर हदका कारण भदौमा अवकाश हुन लागेका थिए ।

प्रदेशको सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदबाट पारित भएलगत्तै राजिनामा दिएका पराजुलीलाई प्रदेश सभा सचिवालयमा नियुक्त गरिएको हो । सभामुख प्रदिप भण्डारीको सिफारिमा प्रदेश प्रमुख प्रा.डा. गोविन्द बहादुर तुम्वाहाङले उनलाई नियुक्त गरेका थिए ।

प्रशासनिक क्षेत्रमा लामो अनुभव भएका पराजुली गृह र स्थानीय निकायका 'काबिल' प्रशासक मानिन्छन् । उनी विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारी भइसकेका छन् । नियुक्ती पाएका पराजुली प्रदेशका प्रमुख सचिव सरहको सेवा सुविधा पाउने गरी ५ वर्षका लागि नियुक्त भएका हुन् ।

पराजुलीले प्रदेश सभा र सचिवालयको वार्षिक बजेट तयार गर्ने, आर्थिक, प्रशासनिक सम्बन्धि आवश्यक काम गर्ने र सचिवालय र अन्य निकायसँग आवश्यक समन्वयको जिम्मेवारीमा छन् ।

सभामुखले प्रदेश सभामा १ जना सचिव नियुक्त गर्न पाउने संविधानमै व्यवस्था भएअनुसार सचिवालयको सचिवमा पराजुलीलाई नियुक्त गरिएको हो । सपथ ग्रहण गराउँदै १ नम्बर प्रदेशका सभामुख प्रदिप कुमार भण्डारीले अब प्रदेश सभालाई कसरी गति दिने र व्यवस्थित गर्ने भन्ने दायित्व सचिवमा आएको स्पष्ट पारे ।

भण्डारीले कानूनले व्यवस्था गरेको अधिकारभित्र रहेर सचिवले कार्यसम्पादन गर्ने व्यवस्था भएकोले अब प्रदेश सभा सचिवालयले पूर्णता पाएको बताए । सरकारका प्रवक्ता हिक्मतकुमार कार्की, प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोईराला लगायतले प्रदेश सभा सचिवालयले अनुभवी व्यक्ति प्राप्त गरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्