२२ जेठ २०८३, शुक्रबार

उपनिषद्को संक्षिप्त परिचय

बैशाख १२, २०७६
उपनिषद्को संक्षिप्त परिचय

हिन्दुहरूको पवित्रतम ग्रन्थ वेदका चार भाग छन् : संहिता, ब्राह्मण, आरण्यक र उपनिषद् । संहितामा वैदिक देवी देवताहरूको स्तुति गरिएका मन्त्र छन्, ब्राह्मणमा वैदिक कर्मकाण्ड र यज्ञको वर्णन गरिएको छ, आरण्यकमा कर्मकाण्ड र यज्ञका रूपक कथा र तिनको दार्शनिक व्याख्या गरिएको छ अनि उपनिषदमा वास्तविक वैदिक दर्शनको सार छ ।


उपनिषदमा आत्म र अनात्म तत्वको निरूपण गरिएको छ । यसमा वेदका मौलिक रहस्यहरू उद्घाटन गरिएका छन् । प्रायः सबै उपनिषद् वेदको अन्त्यमा नै आउँछन् । त्यसैले त यिनीहरू वेदान्त नामबाट प्रसिद्ध छन् । वैदिक धर्मका मौलिक सिद्धान्तलाई तीन प्रमुख ग्रन्थले स्थापना गरेका छन्, यिनलाई प्रस्थानत्रयी भनिन्छ । यी हुन् : उपनिषद्, ब्रह्मसूत्र र श्रीमद्भगवद्गीता ।

उपनिषद्को शाब्दिक अर्थ हुन्छ, समीपमा गएर बस्नु । उप र नि दुई उपसर्गमा सद् धातु जोडिएर उपनिषद् शब्द बन्छ । गुरुको समीपमा बसेर तत्वज्ञान लिनु नै उपनिषद्को अर्थ हो ।

उपनिषद् ब्रह्मको द्योतक हो । उपनिषद् विद्याको अभ्यासबाट मोक्षको आकांक्षा राख्ने व्यक्तिको अविद्या नष्ट हुन्छ, ऊ ब्रह्म प्राप्तिको मार्गमा लाग्छ र उसका सांसारिक दुःख शिथिल भएर जान्छन् । फलतः उपनिषदमा प्रतिपादन गरिएका तत्वको अभ्यासले मनुष्य ब्रह्म वा परमात्माको साक्षात्कार गर्न सफल हुन्छ ।

अब प्रश्न उठ्छ, यी तत्व के हुन् ? १०८ उपनिषदमा यी तत्वको विस्तारपूर्वक वर्णन गरिएको छ ।

उपनिषद्का वैदिक आधार निम्न बमोजिम बताइएको छ :
ऋग्वेदीय १० उपनिषद्, शुक्ल यजुर्वेदीय १९ उपनिषद्, कृष्ण यजुर्वेदीय ३२ उपनिषद्, सामवेदीय १६ उपनिषद् तथा अथर्ववेदीय ३१ उपनिषद् । यो सबै जोड्दा कुल संख्या १०८ हुन जान्छ ।

यिनका अलावा नारायण, नृसिंह, रामतापनी तथा गोपालतापनी चार अन्य उपनिषद् पनि छन् । विषयको गम्भीरता तथा विवेचनको विशदताका कारण १३ उपनिषद् विशेष रूपमा सम्मान्य र प्राचीन ठहरिन्छन् । जगद्गुरु शंकराचार्यले १० वटा उपनिषदमा भाष्य लेख्नुभएको छ : ईश, ऐतरेय, कठ, केन, छान्दोग्य, प्रश्न, तैत्तिरीय, बृहदारण्यक, माण्डूक्य र मुण्डक ।

यी तीन उपनिषद्लाई प्रमाण कोटिमा राखिएको छ : श्वेताश्वतर, कौषीतकी तथा मैत्रायणी ।

अन्य उपनिषदमा विशेष देवतालाई प्रमुख विषय बनाइएकाले तिनको तान्त्रिक महत्व छ । यस्ता उपनिषदमा शैव, शाक्त, वैष्णव तथा योग विषयक उपनिषद् पर्दछन् ।

उपनिषद्हरूमा वर्णन गरिएको भूगोल भारतको मध्यप्रदेशदेखि लिएर नेपालको मिथिला क्षेत्रसम्म फैलिएको छ ।

उपनिषद् काल बुद्धको समयभन्दा धेरै अगाडिको हो । इशापूर्व ८०० मा उपनिषद्को निर्माण भएको मानिन्छ । बुद्धदर्शनमा उपनिषद्का केही छाप भेटिन्छन् ।

१७औं शताब्दीमा मुगल राजकुमार दारा शिकोहले अनेकौं उपनिषद्को फारसीमा अनुवाद गराएका थिए । मुसलमानहरूको सुफी सम्प्रदायमा उपनिषद्को प्रभाव रहेको पाइन्छ ।

१९औं शताब्दीका जर्मन दार्शनिक शोपेनहावर उपनिषदबाट अत्यन्त प्रभावित थिए । जर्मन भाषामा अनुवाद गरिएको उपनिषद् पढेर उनी भावविह्वल हुँदै जर्मनीका सडकमा नाच्दै हिँडेको कथा पाइन्छ ।

उपनिषदमा विद्यमान तत्वज्ञान शाश्वत छ । निर्माण भएको तीन हजार वर्ष बितिसक्दा पनि औपनिषदीय ज्ञान उत्तिकै सान्दर्भिक छ । ‘अहं ब्रह्मास्मि’ र ‘तत्वमसि’ जस्ता दार्शनिक रहस्य बोकेका उपनिषद्को अध्ययन र अभ्यासले मानिस दुःखको सागरबाट पार हुन्छ ।

विनय कुमार अवस्थीको पुस्तकबाट साभार अनुदित

salt training

कमेन्ट गर्नुहोस्