
काठमाडौं – काठमाडौंको तीनकुनेस्थित वाग्मती पुलको काम सुस्त गतिमा भइरहेको छ ।
पुलको ठेक्का अवधि सकिएर थप भएको अवधिसमेत सकिँदा भौतिक प्रगति ३० प्रतिशत मात्रै भएको छ । २ वर्ष ६ महिनामा सम्पन्न हुने गरी पुलको निर्माण ठेक्का सम्झौता विक्रम संवत् २०७१ पुसमा पप्पु कन्सट्रक्सनसँग भएको थियो ।
आधुनिक प्रविधि (नेटवर्क आर्क ब्रिज) बाट निर्माण भइरहेको पुलको निर्माण ठेक्का अवधि गत महिनामा सकिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।
ठेकेदारले नियमित रुपमा काम नगर्दा पुल निर्माणमा ढिलाइ भइरहेको आयोजनाका इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए । शुरूको वर्षमा डिजाइन बनिनसकेको भएपनि अहिले ठेकेदारले नियमित रुपमा काम नगरेको उनको भनाइ छ । यो पुल निर्माण शुरू हुँदा सम्बन्धित निकायले यहाँका विभिन्न संरचना हटाउनमा चासो नदिएको पनि उनले बताए ।
‘पुल निर्माणस्थलमा खानेपानी, ढल, विद्युत् लगायतका संरचना रहेका थिए,’ उनले भने, ‘सम्बन्धित कार्यालयले संरचना हटाउन चासो नदिएपछि अहिले हामी आफैंले नै हटाएर काम गरिरहेका छौं ।’ अहिलेसम्म पुलको जगको काम मात्रै सम्पन्न भएको इञ्जिनीयर श्रेष्ठले बताए ।
ठेक्का अवधि सकिएर १ पटक अवधि थप हुँदा पनि ठेकेदार कम्पनीले काममा ढिलाइ गरिरहेको उनले बताए । उनले भने, ‘काम नगर्ने हो भने त्यहीँ कम्पनीलाई अवधि थप गरिरहने भन्ने हुँदैन ।’
पुल निर्माण ढिलाइको मुख्य कारण ठेकेदारको ढिलाइ भएपनि त्यससँगै डिजाइनमा लामो समय लाग्नु र संरचना समयमा नहट्नु पनि रहेको इञ्जिनीयर श्रेष्ठले जानकारी दिए । सरकारले यसअघि बनाउँदै आएको अरु सामान्य पुलमा पहिले विज्ञलाई डिजाइन गराएर मात्रै ठेक्का आह्वान गर्ने गरेको थियो । पुलमा भने ठेकेदार आफैंले डिजाइन गरेको इञ्जिनीयर श्रेष्ठले बताए । आयोजनाले दिएको ढाँचाअनुसार ठेकेदार कम्पनीले डिजाइन गर्ने सम्झौतामा नै उल्लेख थियो । डिजाइनले नै सम्झौताको आधा समय अर्थात् डेढ वर्ष लागेको उनले बताए ।
‘ठेक्का अवधि शुरू भएपछिको पहिलो डेढ वर्ष डिजाइनमा नै सकियो,’ उनले भने, ‘बाँकी डेढ वर्षमा पनि त्यहाँ रहेका संरचना नहट्दा उनीहरूले सरासर काम गर्न पाएका थिएनन् ।’ नेपालमा पहिलो पटक भित्रिएको यो प्रविधि शहरी क्षेत्रका लागि उपयुक्त मानिने श्रेष्ठले बताए । अरु सामान्य प्रविधि (आरसीसी) भन्दा पुल देख्दा सुन्दर देखिने र लामो आयू हुने उनले बताए ।
अरु पुलमा भारबहन पुलको तल्लो भागले गर्ने भएपनि यसमा भार माथिल्लो भागमा पर्छ । ठेकेदारमार्फत गरिरहेको काममा त्यहाँ रहेका संरचना हटाएर ठेकेदारलाई काम गर्न ‘साइट’ खुल्ला गर्नुपर्ने जिम्मेवारी आयोजनाको हो । डिजाइन सकिएको १ वर्ष त्यहाँ ‘साइट’ खाली गर्नमा नै लागेको उनले बताए । सो स्थानमा रहेका खानेपानी, ढल र विद्युत्को हाइटेनसन लाइन हटाउन नसकेकाले काममा बाधा पुगेको उनले बताए ।
उनले भने, ‘हामीले बारम्बार पत्राचार गर्दा समेत बेवास्ता भएपछि हामी आफैंले त्यहाँका संरचना हटाएका थियौं ।’ जापान सरकारको सहयोगमा निर्माण भएको माइतीघर–तीनकुने सडक ८ लेन भएपनि यहाँ रहेका २ सडक पुल चार लेनको थिए । निर्माणाधीन धोबीखोला र वाग्मती पुल सम्पन्न भएपनि यो सडक ८ लेनको हुनेछ । सो पुलको निर्माण भएपछि तीनकुनेदेखि जडीबुटीसम्म दैनिक हुने सडक जाममा कही कमी आउने विश्वास लिएको छ ।
विश्वका विकसित देशको प्रविधि पहिलो पटक नेपाल भित्र्याइएको हो । पुलको माथिल्लो तहमा अर्धवृत्ताकार संरचना निर्माण गरिने आयोजनाले जनाएको छ । बीचमा बलिया तार जडान हुनेछ र तीनका बीचमा दलिन राखिने खालको डिजाइन रहेको छ । नेटवर्क तारले पुलको भारबहन क्षमता तल र माथि गरेर सन्तुलनमा ल्याउने छ । यो पुलसँगै बिजुलीबजारस्थित धोबीखोला पुलको पनि एउटै मितिमा ठेक्का सम्झौता भएको थियो ।
अहिले धोबीखोलामा भने भौतिक प्रगति ७० प्रतिशत पुगेको आयोजनाले जनाएको छ । यो पुलको लम्बाइ ८५ मिटर र चौडाइ १२ मिटर रहेको छ । यो पुलको निर्माण ठेक्का अवधि गत भदौमा सकिसकेको छ । – सञ्चिता घिमिरे/रासस