०९ असार २०८३, मंगलबार

टाउको दुख्ने, वाकवाकी लाग्ने, ज्वरो आउने अनि मृत्यु ! ८ जनाको गयो ज्यान

बैशाख १४, २०७६
टाउको दुख्ने, वाकवाकी लाग्ने, ज्वरो आउने अनि मृत्यु ! ८ जनाको गयो ज्यान
प्रतिकात्मक तस्वीर

हुम्ला – पहिचान हुन नसकेको रोगका कारण हुम्लाको ताँजाकोट गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ । रोगले १ दर्जनभन्दा बढी बिरामी परेका छन् ।

एक सातासम्म फैलिएको रोगका कारण शुक्रवारसम्म मर्नेको संख्या ८ पुगेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए ।

बिरामीको उचित उपचार र रोगको पहिचान नभएका कारण रोग फैलिँदै गएको छ । रोगबाट गाउँपालिका मैला, मदान लगायतका गाउँका मानिस बिरामी परेको स्थानीय वासिन्दाले बताएका छन् । शुरूमा बिरामीको टाउको दुख्ने, वाकवाकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने र अन्त्यमा मृत्यु हुने गरेको छ ।

ग्रामीण भेगमा रहेका स्वास्थ्य संस्थामा औषधि नहुनुका साथै स्वाथ्यकर्मी नबस्नुकै कारण उपचारमा समस्या हुँदै आएको स्थानीयले बताएका छन् । १ हप्ताअघि पानी परेसँगै रोग फैलिएपछि मृत्यु हुनेमा सो गाउँपालिका–१ का ७० वर्षीय कुशुमा रिठाल र ६० वर्षीय सुरजित खड्का छन् । वडा नम्बर २ का ५५ वर्षीय रंगे कोली र ५ वर्षकी सुनकेसा सुनार, वडा नम्बर ३ का ७० वर्षीय अम्मकली मल्ल, ७५ वर्षीय बज्जीरे सुनार, ५५ वर्षीय लक्ष्य सुनार र १० महीनाका बालक सञ्जिव थापा रहेको मैला स्वास्थ्य चौकीका अहेब मोतीलाल जैशीले बताए ।

स्वास्थ्यचौकीमा पर्याप्त मात्रामा औषधि नभएको र स्वाथ्यकर्मी नबसेकाले बिरामीको संख्या बढेको गाउँपालिका अध्यक्ष बागचल छत्याल मल्लले बताए । मृत्यु हुनेको श्वासप्रश्वास र दमसम्बन्धी समस्या रहेको उनको भनाइ थियो । 

घटनास्थल सदरमुकाम सिमकोटदेखि ४५ कोश टाढा भएकाले के रोगका कारणले ज्यान गएको हो भन्ने जानकारी नभएको प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए ।

औषधि र स्वास्थ्यकर्मीको अभाव हुन नदिन र उक्त रोगको रोगथामका लागि प्रदेश सरकार सामाजिक विकास मन्त्रालयबाट औषधिसहित स्वास्थ्यकर्मीको टोली घटनास्थलमा जाने तयारी भइरहेको गाउँपालिकाका अध्यक्ष मल्लले बताए । अहिले  रोग संक्रमित गाउँमा शिविर सञ्चालन भइरहेको र कुनै पनि स्वास्थ्य संस्थाका कर्मचारीलाई कार्यक्षेत्र नछाड्न पनि निर्देशन दिएको अध्यक्ष मल्लले बताए ।

salt training

कमेन्ट गर्नुहोस्