
डडेल्धुरा – जिल्लाको अजयमेरु गाउँपालिकामा परेको असिनापानीले खाद्यान्न, फलफूल र तरकारी लगायतका हिउँदेबालीमा क्षति पुर्याएको छ ।
गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ का मगराउ, भुलकुँडा, खतेडा, बजकोट, चुल्ल लगायतका आधा दर्जन गाउँमा असिनापानीले गहुँ, जौंलगायत फलफूल र तरकारी बाली पूर्णरूपमा नष्ट भएको छ ।
दिउँसो करीब १ घण्टा परेको असिनापानीले पाक्न थालेको गहुँ र जौंसहित अन्य अन्नबाली पूर्णरूपमा नष्ट भएको अजयमेरु–१ का लक्ष्मी भट्टले जानकारी दिए । साथै ओखर, जुनार, सुन्तलामा समेत क्षति पुगेको भट्टको भनाइ थियो । तरकारी पनि पूर्णरूपमा नष्ट भएको खतेडाका किसान धर्मानन्द भट्टले बताए ।
भित्र्याउनै लागेको गहँुबाली पूर्णरूपमा नष्ट भएपछि खाद्यान्नको अभाव हुने भन्दै स्थानीय गणेश पाण्डेले चिन्ता व्यक्त गरे । गाउँपालिकाको लेकाली गाउँमा गहुँ प्रमुख खाद्यबालीका रूपमा रहेको बताउँदै पाण्डेले भने, ‘गहुँबाली नष्ट हुँदा अब के खाने भन्ने पीरले सताएको छ ।’
असिनापानीले भएको क्षतिको अनुगमन गरेर विवरण लिने काम भइरहेको र क्षतिपूर्तिका लागि कार्यपालिकाको बैठकबाट निर्णय लिने गाउँपालिका अध्यक्ष उमेश भट्टले बताए । यसैगरी गाउँपालिकाको टोलीले असिनापानीले क्षति गरेको स्थानको अनुगमन गरी क्षतिको विवरण लिने काम भइरहेको र छिट्टै राहत उपलब्ध गराउने बताइएको छ ।
करीब ४५ वर्षपछि यति ठूलो असिनापानी परेको स्थानीय वडा नम्बर १ का अध्यक्ष दत्तीसिंह भण्डारीले बताए ।