काठमाडौं – समान पहुँच नेपाल र राष्ट्रिय मानवअधिकार आयोगको संयुक्त आयोजनामा दुईदिने मानव अधिकार र स्वास्थ्य तालिम शनिवार सम्पन्न भएको छ ।
महिलालाई मानवअधिकार र स्वास्थ्यका विषयमा सक्षम बनाउने उद्देश्यले राष्ट्रिय मानवअधिकार आयोगको सहकार्यमा समान पहुँच नेपालले उक्त तालिम आयोजना गरेको हो ।
विशेषगरी स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा समाजका अगुवा महिलालाई लक्षित गरी सञ्चालन गरिएको दुईदिने तालिममा संघ र स्थानीय तहमा महिलाको अधिकार, साइबर अपराध, विभेद, स्वास्थ्य सम्बन्धी सचेतना, मानसिक रोग र यसका परम्परागत अवधारणाको निराकरणका उपाय लगायतका विषयमा मात्रिका देवकोटा, अधिवक्ता वर्षा ढकाल, सोम सुवेदी लगायतले प्रशिक्षण दिएका थिए ।
उक्त तालिममा नार्गाजुन नगरपालिकाका १० वटै वडा र चन्द्रागिरी नगरपालिकाका केही वडाबाट अगुवा महिला, महिला स्वास्थ्य स्वयंसेविका सहित ५० जनाको सहभागिता रहेको थियो ।
मानव अधिकार र स्वास्थ्यसम्बन्धी दुईदिने तालिम मानवअधिकार आयोगका गोविन्द शर्मा पौडेलको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत, उपप्रमुख सुशीला अधिकारी, वडा नं १० का वडाध्यक्ष सुन्दरबहादुर केसी, सदस्य चिनियाँकाजी विष्ट समेतको उपस्थिति थियो । समापन कार्यक्रममा तालिमका सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
समापन कार्यक्रमकै क्रममा नागार्जुन नगरपालिकामा कार्यरत महिला स्वयंसेविकाहरूले मासिक भत्ताका रूपमा ४०० रुपैयाँ खाइपाइ आएकोमा नयाँ आर्थिक वर्षबाट ३ हजार रुपैयाँ मासिक भत्ता दिइने प्रतिबद्धता नार्गाजुन नगरपालिकाका प्रमुख बस्नेतले गरेका थिए । भत्ता बढाइएको घोषणापछि समापन कार्यक्रममा हर्षोल्लास छाएको थियो ।
महिलाले आफ्नो अधिकार र स्वास्थ्यका बारेमा जानकारी दिएर राज्यका हरेक निकायमा सक्षम, सबल र सशक्त बनाउनका लागि आफूहरूले मानवअधिकार र स्वास्थ्य सम्बन्धी तालिम सञ्चालन गरेको समान पहुँच नेपालका अध्यक्ष सानुमैया आचार्यले बताइन् ।
उनले आगामी दिनमा पनि यस संस्थाले महिलाहरूलाई अधिकार र स्वास्थ्यका विषयमा तथा आर्थिक रूपमा सक्षम बनाउनका लागि विभिन्न सीपमूलक तालिम, नेतृत्व विकास लगायतका तालिमहरू काठमाडौंमा मात्र नभई दुर्गम क्षेत्रसम्म पनि पुगेर सञ्चालन गर्ने भावी योजना रहेको बताइन् ।
समान पहुँच संस्थाले महिला, दलित, पिछडिएका वर्गहरूलाई लक्षित गर्दै यस्ता खालका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
सबै तस्वीर : वीर बहादुर राना