१३ असार २०८३, शनिबार

नेकपामा पोलिटब्यूरो गठनको गृहकार्य : प्रदेशका चार सचिव सूचीमा नपरेपछि तनाव !

बैशाख १५, २०७६
नेकपामा पोलिटब्यूरो गठनको गृहकार्य : प्रदेशका चार सचिव सूचीमा नपरेपछि तनाव !
फाइल फोटो

काठमाडौं -जिल्ला कमिटी एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पोलिटब्यूरो गठन गर्ने मुद्दाले तीव्र रूपमा बहसको स्थान पाएको छ । प्रदेश कमिटीका सबै पदाधिकारीहरू पोलिटब्यूरोमा ल्याउने तयारी भएपनि केही सचिवहरूको नाम सूचीमा अट्न नसक्ने देखिएपछि पोलिटब्यूरो गठनमा पनि तीव्र विवाद हुने देखिएको हो ।

स्रोतका अनुसार पूर्वएमालेबाट ८१ र माओवादीबाट ६६ जना सदस्य राखेर १४७ सदस्यीय पोलिटब्यूरो गठन गर्ने तयारी छ । सूची पनि तयार भइसकेको छ, तर प्रदेशका केही पदाधिकारी वरिष्ठताको आधारमा मापदण्डमा नपर्ने देखिएका छन् । सात प्रदेशका २८ पदाधिकारीमध्ये ४ जना पोलिटब्यूरो गठनको मापदण्डमा परेका छैनन् ।

तत्कालीन एमालेमा पोलिटब्यूरो सदस्यको संख्या ५० र वैकल्पिक पोलिटब्यूरो सदस्य संख्या १५ थियो । ८१ जना तत्कालीन एमालेबाट पोलिटब्यूरो बन्ने भएपछि ६५ जना स्वतः पर्ने हुनाले थप १६ जना आवश्यक पर्छ । यी मध्ये वरिष्ठताका आधारमा छान्नुपर्नेछ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दुवै समूहबाट साविक पोलिटब्यूरोमा रहेका बाहेक वारिष्ठता र योगदान हेरेर चयन गर्ने मापदण्डमा सहमति जुटिसकेको बताए ।

पूर्व माओवादीमा तत्कालीन पार्टी सचिवालयमा ९९ जना सदस्य थिए । पोलिटब्यूरोका लागि तिनैमध्येबाट सदस्य छनोट गर्नुपर्ने हुन्छ । १९ जना स्थायी कमिटीमा परिसकेकाले पोलिटब्यूरोका लागि अब चाहिने थप ४७ जनाको नामावली तयार गर्दा धेरै जनाले असन्तुष्टि जनाउने सम्भावना रहेको छ । पोलिटब्यूरो गठनका लागि तयार पारिएको सूची अहिलेसम्म बाहिरिएको छैन ।

पोलिटब्यूरोको सूचीमा प्रदेश नम्बर २ का सचिव सुमन प्याकुरेल, प्रदेश नम्बर ३ का सचिव आनन्दप्रसाद पोखरेल, प्रदेश नम्बर ५ का सचिव गोविन्द नेपाली र सुदूरपश्चिमका सचिव नेपप्रसाद चौधरी नरहेको समाचार आएपछि प्रदेश सचिवहरू असन्तुष्ट देखिन्छन् ।

नम्बर ३ का सचिव आनन्द पोखरेलले आफूले आधिकारिक जानकारी नपाएसम्म केही नबोल्ने बताए ।

आइतवार बिहान लोकान्तरसँग कुरा गर्दै पोखरेलले भने, 'मैले पनि यो कुरा सञ्चारमाध्यमबाट थाहा पाएको हुँ । आधिकारिक रूपमा कहीँ कतैबाट आएको छैन । तर ३० सालदेखिको राजनीतिमा मैले धेरै योगदान गरेको छु । पूर्वमन्त्री पनि भएको मान्छे हुँ । आशा गर्छु, नेतृत्वले पोलिटब्यूरोको सूची तयार गर्दा पार्टीका लागि गरेको योगदान, वरिष्ठता र अन्य कुराहरूमा पनि ध्यान देओस् ।'

तर पूर्वमाओवादी समूहबाट प्रदेश सचिव बनेका जगप्रसाद शर्मा, सुरेश राई र मायाप्रसाद शर्मा पोलिटब्यूरो सदस्य बन्ने सूचीमा रहेका छन् । त्यही कारणले पनि पूर्व एमाले समूहबाट प्रदेश सचिव बनेका प्रदेश २, ३, ५ र सुदूरपश्चिमका प्रदेश सचिवलाई समेट्नुपर्ने दबाबमा पार्टी नेतृत्व देखिन्छ ।

वरिष्ठ नेता माधवकुमार नेपाल चीनबाट फर्केपछि सचिवालय बैठक बसेर पोलिटब्यूरो टुंगो लगाइने एक सचिवालय सदस्यले बताए ।

'माधव कमरेड चीनबाट फर्केलगत्तै पोलिटब्यूरो गठनको प्रक्रिया शुरू हुनेछ,' उनले भने, 'सम्भवतः सोमवार या मंगलवारसम्म सचिवालयको बैठक बस्नेछ । सबैलाई न्याय हुने गरी वरिष्ठताका आधारमा पोलिटब्यूरो चयन गर्न हामी सबै सहमत छौं । एकाध असन्तुष्टि देखिन सक्छन्, तर ढिलो भइरहेको पार्टीको एकताप्रक्रियालाई छिटो टुंग्याउनु पनि हाम्रो प्रमुख दायित्व हो ।'

प्रदेशका सचिवहरू पोलिटब्यूरोको सूचीमा नपरेको बारे उनले केही बताउन चाहेनन् । आधिकारिक रूपमा पार्टीले निर्णय नगरेको विषयमा केही बोल्न नमिल्ने उनको प्रतिक्रिया छ ।

salt training

कमेन्ट गर्नुहोस्