०७ असार २०८३, आइतबार

श्रीलंका आक्रमणका मुख्य योजनाकारका पिता र दुई दाजुभाइ मारिए

बैशाख १५, २०७६
श्रीलंका आक्रमणका मुख्य योजनाकारका पिता र दुई दाजुभाइ मारिए

काठमाडौं – श्रीलंकामा अघिल्लो आइतवार भएको शृंखलाबद्ध बम विस्फोटका प्रमुख योजनाकार भनिएका व्यक्तिका पिता र दुई दाजुभाइ सुरक्षाकर्मीहरूको कारवाहीमा मारिएका छन् । उनीहरू बसेको घरमा सुरक्षाकर्मीले आक्रमण गरेपछि उनीहरू मारिएको प्रहरी स्रोत र आत्मघाती आक्रमणकारीका एक नातेदारले बताए । 

जैनी हशिम, रिल्वान हशिम र उनीहरूका पिता मोहम्मद हशिमलाई सामाजिक सञ्जालमा देखिएको एक भिडियोमा काफिरहरूविरुद्ध पूर्णकालीन युद्धको आह्वान गरेको सुनिएको थियो । शुक्रवार श्रीलंकाको पूर्वी तटमा सेनासँग भएको

कडा भिडन्तमा मारिने १५ जनामा उनीहरू पनि थिए । 

शृंखलाबद्ध आक्रमणका योजनाकार जाहरान हशिम भएको आरोप छ । उनका ज्वाईं नियाज शरिफले रोयटर्स समाचार संस्थालाई बताएअनुसार, भिडियोमा जाहरान हशिमका दुई दाजुभाइ र पिता देखिएका हुन् । 

मारिएका १५ जनामध्ये तीनजना सामाजिक सञ्जालमै देखिएको भिडियोका मानिस भएको प्रहरी स्रोतले बतायो । उनीहरूले शहादतको चर्चा गर्दै अनुयायीहरूलाई सबै काफिरको हत्या गर्न आग्रह गरेका थिए । 

ईस्टर सन्डे आक्रमणपछि श्रीलंकामा उच्च सतर्कता अपनाइएको छ । देशभरि लगभग १० हजार सैनिकहरूले आक्रमणमा जिम्मेवार रहेको विश्वास गरिएका दुई इस्लामी समूहका सदस्यलाई खोजी र कारवाही गरिरहेका छन् ।

एजेन्सी
 

कमेन्ट गर्नुहोस्