पर्सा, २ पुस - सीमा विवाद समाधान गर्न आज वीरगन्जमा बसेको नेपाल र भारतका अधिकारीहरुको बैठकले विभिन्न तीनबुँदे निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा वीरगन्जको भीष्वा होटलमा बसेको दुवै देशका अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।
वीरगन्जमा बसेको अधिकारीहरुको बैठकले आउँदो यही पुस ५ गतेदेखि बारा, पर्सा र चितवनमा रहेका सीमा स्तम्भको निरीक्षण कार्य सुरु गर्ने, सीमा क्षेत्रमा रहेका दुवैतर्फका अतिक्रमित क्षेत्रको पहिचान गरी सूचीकृत गर्ने र अर्को बैठक २०१७ को मई महिनामा बस्ने निर्णय गरेको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिए ।
उनले गतवर्ष चितवन जिल्लासँग जोडिएको सीमा क्षेत्रमा गरिएको मर्मत सम्भार, पुनःनिर्माण र अनुगमनको समीक्षा गर्दै अधिकारीहरुले सीमाक्षेत्रमा देखिएका अतिक्रमित क्षेत्रको पहिचान गरी दुवैतर्फका अधिकारीहरुको सहभागितामा समस्या समाधान गर्नसमेत सहमति गरेको बताए ।
बैठकबारे सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले तिनै जिल्लासँग जोडिएका ४७३ नयाँ सीमा स्तम्भ निर्माणसँगै जीर्ण भएका स्तम्भको मर्मत भएको र बाँकी एकहजार ३९७ सीमा स्तम्भको निर्माण तथा मर्मत कार्य गर्न बाँकी रहेको बताए ।
नेपाली भूभागबाट भारतीयले गर्दै आएको अवैध उत्खननलाई रोक्ने विषयमा भारतीय अधिकारीहरुसँग छलफलसमेत भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिए ।
पर्साका प्रजिअ केशवराज घिमिरेले नेपाली टोलीको नेतृत्व गरेका थिए भने विहार पश्चिमी चम्पारणका डिएम लोकेशकुमार सिंहले भारतीय टोलीको नेतृत्व गरेका थिए ।
बैठकमा बारा, पर्सा र चितवनका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रहरी उपरीक्षक, सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक, नापी कार्यालय प्रमुख, वन कार्यालयका प्रमुखको उपस्थित रहेको थियो भने भारतीय टोलीमा पूर्वी तथा पश्चिमी चम्पारणका प्रहरी प्रमुख, एसएसबी पिपराकोठीका प्रमुख, वन कार्यालय पश्चिमी चम्पारण भारतका प्रमुखलगायतको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।