१० साउन २०८३, आइतबार

ला लीगा उपाधि पोल्टामा, च्याम्पियन्स लीग जित्ने मिसनमा मेस्सी

बैशाख १५, २०७६
ला लीगा उपाधि पोल्टामा, च्याम्पियन्स लीग जित्ने मिसनमा मेस्सी

लियोनेल मेस्सीलाई अघिल्लो वर्षको बालून दोरको सूचीमा पाँचौं स्थानमा राखिएपछि उनले शालीन पारामा त्यसमाथि प्रतिक्रिया दिए । ‘फूटबलमा टोलीको संयुक्त प्रयास जहिले पनि एक व्यक्तिको प्रदर्शनभन्दा माथि हुन्छ,’ उनले डियारियो स्पोर्टलाई बताएका थिए । 

तर यस सीजनमा उनको खेल हेर्ने जोकोहीलाई थाहा छ, बालून दोरमा उनलाई गरिएको अपमानले उनीभित्र एउटा ज्वाला उत्पन्न गरेको रहेछ । त्यसैले प्रेरणा दिएपछि उनले असाधारण फर्ममा रहँदै बार्सिलोनालाई लगातार दोस्रोपटक ला लिगा उपाधि  दिलाए । अझ कोपा देल रेको फाइनलमा अनि च्याम्पियन्स लीगको सेमिफाइनलमा बार्सिलोनालाई पुर्‍याउनका लागि उनकै सर्वाधिक योगदान छ । 

यी अर्जेन्टिनी खेलाडी यही गर्मी महिनामा ३२ वर्ष पुग्दैछन् तर उनले सुस्ताएको कुनै लक्षण देखाएका छैनन् । ला लिगामा उनी ३४ गोल तथा १५ असिस्ट गरेर पहिलो स्थानमा रहेका छन् । 

मेस्सीले ला लिगामा क्रिस्टियानो रोनाल्डोसँगको घरेलु प्रतिस्पर्धा मिस गरिरहेको संकेत दिए पनि रियाल मड्रिडका पूर्वखेलाडी युभेन्टस गएपछि पनि मेस्सीलाई अद्भुत खेल देखाउन उत्साह जागिरहेकै छ । 

बार्सिलोनाका कप्तानले क्लबलाई आरम्भदेखि अन्त्यसम्म ला लिगामा प्रभुत्व जमाउन सहयोग गरेका छन् । यो क्याटालन क्लब लीगको शीर्ष स्थानमा १४औं हप्तादेखि कायम छ । 

मेस्सीले लगातार तेस्रो सीजनको ट्रोफियो पिचिची जित्न लागेका छन् । उनले ३४ गोल गर्दा ला लिगाका अन्य खेलाडी लुइस सुआरेज र करिम बेन्जिमा २१ गोलका साथ निकै तल छन् । 

अनि युरोपीयन गोल्डन शूको दौडमा किलियन एम्बाप्पे मात्र ३० गोलका साथ मेस्सी नजिक छन् । तर मेस्सीलाई कीर्तिमानी रूपमा छैठौंपटक गोल्डन शू जित्न एम्बाप्पेले रोक्ने छाँट देखिँदैन । 

‘व्यक्तिगत रूपमा सुधार गर्दै जानु जहिले पनि महत्त्वपूर्ण हुन्छ तर त्यो पनि सामूहिक हितकै सन्दर्भमा हुनुपर्छ,’ मेस्सीले यसै सीजनको आरम्भतिर भनेका थिए, ‘तपाईंले आफ्नो टोलीलाई सहयोग गर्न सक्नुभयो र पिचमा झनै सफल हुनुभयो भने मात्र त्यसको महत्त्व रहन्छ ।’

मेस्सीले वास्तवमै त्यही गरेका छन् । उनी बार्सिलोनाको कुल ८६ गोलमध्ये ५६ प्रतिशतमा संलग्न रहेका छन् । उनका विशेष प्रदर्शन लेभान्तेविरुद्धको ५–० जीतमा गरेको ह्याटट्रिक र दुई असिस्ट अनि सेभियाविरुद्धको ४–२ अन्तरको जीतमा ह्याटट्रिक र एक असिस्ट हो । 

तर बार्सिलोना मेस्सीको अनुपस्थितिमा पनि बलियो टोलीका रूपमा देखियो । अक्टोबर महिनामा रियाल मड्रिडविरुद्ध ५–१ को विजय यस सीजनकै निर्णायक मोड बन्यो । 

उक्त खेलमा मेस्सी चोटका कारण खेल्न पाएका थिएनन् । ‘मेस्सी संसारकै सर्वोत्कृष्ट खेलाडी हुन्, उनी जहिले पनि क्लबका लागि फाइदा दिइरहन्छन्,’ सुआरेजले उक्त जीतपछि भनेका थिए । उक्त खेलमा सुआरेजले ह्याटट्रिक गरेका थिए । मेस्सीविनाको क्लासिकोमा ह्याटट्रिक गर्ने रोमारियोपछिका दोस्रा खेलाडी सुआरेज हुन् । 

‘तर हामीले फूटबलमा बार्सिलोनाको स्तर के हो भन्ने देखाउन सकेका छौं । हामीहरू प्रशिक्षकका साथमा छौं र हामी क्लबलाई माया गर्छौं,’ सुआरेजले थपेका थिए । 

प्रशिक्षक अर्नेस्टो भाल्भेर्देको भविष्यका सम्बन्धमा अनेकौं शंका उठिरहँदा सुआरेजको उक्त टिप्पणी आएको थियो । भाल्भेर्दे कहिले पनि नहाँस्ने किसिमका भए पनि क्लबलाई जिताउनका लागि भरपर्दा मानिस हुन् । 

बार्सिलोनाले भाल्भेर्देमाथि विश्वास गरिरहँदा क्लासिकोमा प्राप्त विजयले रियाल मड्रिडका तत्कालीन प्रशिक्षक युलेन लोपेतेगुईको करीयर नै ध्वस्त पारिदियो । उनले जम्मा १४ खेलमा प्रशिक्षण गर्न पाए ।

लोस ब्लान्कोस भनी चिनिने रियाल मड्रिड अस्तव्यस्त हुँदा बार्सिलोनाको शानदार सीजनले मड्रिडलाई कुरीकुरी बनाइरह्यो । 

भाल्भेर्देको प्रशिक्षणमा बार्सिलोना अहिले सीजनका तीनवटा ट्रफी जित्ने ध्याउन्नमा छ । उता मड्रिडले यसबीचमा तीनवटा प्रशिक्षक परिवर्तन गरिसकेको छ । लोपेतेगुईपछि आएका सान्टियागो सोलारीले पनि क्लबलाई पुनर्जागृत गर्न नसकेपछि जिनेदिन जिदान क्लबमा फर्किए । 

एल क्लासिकोका सबै खेलमा बार्सिलोना अहिले रियाल मड्रिडभन्दा अघि छ र यस सीजनमा आएर बेर्नाबेउमा लगातार चार खेल जित्ने पहिलो क्लब बनेको छ । 

बार्सिलोनाका समर्थकहरू किन पनि आह्लादित छन् भने स्पेनमा क्लबले शानदार प्रदर्शन गरिरहँदा आफ्नो सबभन्दा ठूलो प्रतिद्वन्द्वी चाहिँ लाजलाग्दो अवस्थामा छ । 

‘क्रिस्टियानो रोनाल्डोविना नै राम्रो परिणाम पाइएला भन्ने सोच पालेकोले त्यसको मूल्य रियाल मड्रिडले चुकाइरहेको छ,’ फाबियो कापेलोल सीजनको आरम्भतिरै  भनेका थिए ।

वास्तवमा रोनाल्डो गएपछि मड्रिडका लागि बेन्जिमाले मात्र राम्रो प्रदर्शन गरेका छन् । यसले गर्दा अबको ट्रान्सफर सीजनमा क्लबले व्यापक परिवर्तन गर्ने देखिएको छ । 

उता रोनाल्डोले यस सीजनमा आफ्नै कीर्तिमान बनाएका छन् । उनी प्रेमियर लीग, ला लिगा र सेरी आ जित्ने पहिलो खेलाडी बनेका छन् । 

तर च्याम्पियन्स लीग तथा कोप्पा इटालियाको क्वार्टरफाइनलबाटै बाहिरिएर रोनाल्डोले डेब्यु सीजनमा लीग उपाधि मात्र जित्न सकेका छन् । 

उता मेस्सी र बार्सिलोनाले तीनमध्ये एक उपाधि जितिसकेका छन् । क्लबले ट्रफी जित्नुको श्रेय जादूगर मेस्सीलाई नै जान्छ । 

‘म शब्दहरू जोड्न चाहन्छु तर लियोका बारेमा के भनौं र खै ?’ भाल्भेर्देले यस सीजनको आरम्भमा भनेका थिए । 

‘उनले सबै कीर्तिमान तोडिरहेका छन् र अझै केही तोड्न बाँकी छन् । जनताले उनीबाट जहिले पनि विशेष प्रदर्शनको आशा गर्छन् र उनले त्यस्तो प्रदर्शन गर्छन् पनि । उनी के हुन् र वैश्विक दृष्टिकोणबाट हेर्दा उनको महत्त्व कस्तो छ भन्ने हामीलाई थाहा छ र हामी त्यसको आनन्द उठाइरहेका छौं,’ उनले भनेका थिए ।

स्पेनको च्याम्पियन टोली हुनु आफैंमा लोभलाग्दो उपलब्धि हो तर युरोपेली च्याम्पियन बन्ने आशा बार्सिलोनाले पालिरहेको छ । अनि उक्त उपाधि दिलाउनका लागि मेस्सी सर्वोत्कृष्ट फर्ममा छन् । 

गोल डट्कममा प्रकाशित आमे रुज्काईको विश्लेषण
 

salt training

कमेन्ट गर्नुहोस्