
लियोनेल मेस्सीलाई अघिल्लो वर्षको बालून दोरको सूचीमा पाँचौं स्थानमा राखिएपछि उनले शालीन पारामा त्यसमाथि प्रतिक्रिया दिए । ‘फूटबलमा टोलीको संयुक्त प्रयास जहिले पनि एक व्यक्तिको प्रदर्शनभन्दा माथि हुन्छ,’ उनले डियारियो स्पोर्टलाई बताएका थिए ।
तर यस सीजनमा उनको खेल हेर्ने जोकोहीलाई थाहा छ, बालून दोरमा उनलाई गरिएको अपमानले उनीभित्र एउटा ज्वाला उत्पन्न गरेको रहेछ । त्यसैले प्रेरणा दिएपछि उनले असाधारण फर्ममा रहँदै बार्सिलोनालाई लगातार दोस्रोपटक ला लिगा उपाधि दिलाए । अझ कोपा देल रेको फाइनलमा अनि च्याम्पियन्स लीगको सेमिफाइनलमा बार्सिलोनालाई पुर्याउनका लागि उनकै सर्वाधिक योगदान छ ।
यी अर्जेन्टिनी खेलाडी यही गर्मी महिनामा ३२ वर्ष पुग्दैछन् तर उनले सुस्ताएको कुनै लक्षण देखाएका छैनन् । ला लिगामा उनी ३४ गोल तथा १५ असिस्ट गरेर पहिलो स्थानमा रहेका छन् ।
मेस्सीले ला लिगामा क्रिस्टियानो रोनाल्डोसँगको घरेलु प्रतिस्पर्धा मिस गरिरहेको संकेत दिए पनि रियाल मड्रिडका पूर्वखेलाडी युभेन्टस गएपछि पनि मेस्सीलाई अद्भुत खेल देखाउन उत्साह जागिरहेकै छ ।
बार्सिलोनाका कप्तानले क्लबलाई आरम्भदेखि अन्त्यसम्म ला लिगामा प्रभुत्व जमाउन सहयोग गरेका छन् । यो क्याटालन क्लब लीगको शीर्ष स्थानमा १४औं हप्तादेखि कायम छ ।
मेस्सीले लगातार तेस्रो सीजनको ट्रोफियो पिचिची जित्न लागेका छन् । उनले ३४ गोल गर्दा ला लिगाका अन्य खेलाडी लुइस सुआरेज र करिम बेन्जिमा २१ गोलका साथ निकै तल छन् ।
अनि युरोपीयन गोल्डन शूको दौडमा किलियन एम्बाप्पे मात्र ३० गोलका साथ मेस्सी नजिक छन् । तर मेस्सीलाई कीर्तिमानी रूपमा छैठौंपटक गोल्डन शू जित्न एम्बाप्पेले रोक्ने छाँट देखिँदैन ।
‘व्यक्तिगत रूपमा सुधार गर्दै जानु जहिले पनि महत्त्वपूर्ण हुन्छ तर त्यो पनि सामूहिक हितकै सन्दर्भमा हुनुपर्छ,’ मेस्सीले यसै सीजनको आरम्भतिर भनेका थिए, ‘तपाईंले आफ्नो टोलीलाई सहयोग गर्न सक्नुभयो र पिचमा झनै सफल हुनुभयो भने मात्र त्यसको महत्त्व रहन्छ ।’
मेस्सीले वास्तवमै त्यही गरेका छन् । उनी बार्सिलोनाको कुल ८६ गोलमध्ये ५६ प्रतिशतमा संलग्न रहेका छन् । उनका विशेष प्रदर्शन लेभान्तेविरुद्धको ५–० जीतमा गरेको ह्याटट्रिक र दुई असिस्ट अनि सेभियाविरुद्धको ४–२ अन्तरको जीतमा ह्याटट्रिक र एक असिस्ट हो ।
तर बार्सिलोना मेस्सीको अनुपस्थितिमा पनि बलियो टोलीका रूपमा देखियो । अक्टोबर महिनामा रियाल मड्रिडविरुद्ध ५–१ को विजय यस सीजनकै निर्णायक मोड बन्यो ।
उक्त खेलमा मेस्सी चोटका कारण खेल्न पाएका थिएनन् । ‘मेस्सी संसारकै सर्वोत्कृष्ट खेलाडी हुन्, उनी जहिले पनि क्लबका लागि फाइदा दिइरहन्छन्,’ सुआरेजले उक्त जीतपछि भनेका थिए । उक्त खेलमा सुआरेजले ह्याटट्रिक गरेका थिए । मेस्सीविनाको क्लासिकोमा ह्याटट्रिक गर्ने रोमारियोपछिका दोस्रा खेलाडी सुआरेज हुन् ।
‘तर हामीले फूटबलमा बार्सिलोनाको स्तर के हो भन्ने देखाउन सकेका छौं । हामीहरू प्रशिक्षकका साथमा छौं र हामी क्लबलाई माया गर्छौं,’ सुआरेजले थपेका थिए ।
प्रशिक्षक अर्नेस्टो भाल्भेर्देको भविष्यका सम्बन्धमा अनेकौं शंका उठिरहँदा सुआरेजको उक्त टिप्पणी आएको थियो । भाल्भेर्दे कहिले पनि नहाँस्ने किसिमका भए पनि क्लबलाई जिताउनका लागि भरपर्दा मानिस हुन् ।
बार्सिलोनाले भाल्भेर्देमाथि विश्वास गरिरहँदा क्लासिकोमा प्राप्त विजयले रियाल मड्रिडका तत्कालीन प्रशिक्षक युलेन लोपेतेगुईको करीयर नै ध्वस्त पारिदियो । उनले जम्मा १४ खेलमा प्रशिक्षण गर्न पाए ।
लोस ब्लान्कोस भनी चिनिने रियाल मड्रिड अस्तव्यस्त हुँदा बार्सिलोनाको शानदार सीजनले मड्रिडलाई कुरीकुरी बनाइरह्यो ।
भाल्भेर्देको प्रशिक्षणमा बार्सिलोना अहिले सीजनका तीनवटा ट्रफी जित्ने ध्याउन्नमा छ । उता मड्रिडले यसबीचमा तीनवटा प्रशिक्षक परिवर्तन गरिसकेको छ । लोपेतेगुईपछि आएका सान्टियागो सोलारीले पनि क्लबलाई पुनर्जागृत गर्न नसकेपछि जिनेदिन जिदान क्लबमा फर्किए ।
एल क्लासिकोका सबै खेलमा बार्सिलोना अहिले रियाल मड्रिडभन्दा अघि छ र यस सीजनमा आएर बेर्नाबेउमा लगातार चार खेल जित्ने पहिलो क्लब बनेको छ ।
बार्सिलोनाका समर्थकहरू किन पनि आह्लादित छन् भने स्पेनमा क्लबले शानदार प्रदर्शन गरिरहँदा आफ्नो सबभन्दा ठूलो प्रतिद्वन्द्वी चाहिँ लाजलाग्दो अवस्थामा छ ।
‘क्रिस्टियानो रोनाल्डोविना नै राम्रो परिणाम पाइएला भन्ने सोच पालेकोले त्यसको मूल्य रियाल मड्रिडले चुकाइरहेको छ,’ फाबियो कापेलोल सीजनको आरम्भतिरै भनेका थिए ।
वास्तवमा रोनाल्डो गएपछि मड्रिडका लागि बेन्जिमाले मात्र राम्रो प्रदर्शन गरेका छन् । यसले गर्दा अबको ट्रान्सफर सीजनमा क्लबले व्यापक परिवर्तन गर्ने देखिएको छ ।
उता रोनाल्डोले यस सीजनमा आफ्नै कीर्तिमान बनाएका छन् । उनी प्रेमियर लीग, ला लिगा र सेरी आ जित्ने पहिलो खेलाडी बनेका छन् ।
तर च्याम्पियन्स लीग तथा कोप्पा इटालियाको क्वार्टरफाइनलबाटै बाहिरिएर रोनाल्डोले डेब्यु सीजनमा लीग उपाधि मात्र जित्न सकेका छन् ।
उता मेस्सी र बार्सिलोनाले तीनमध्ये एक उपाधि जितिसकेका छन् । क्लबले ट्रफी जित्नुको श्रेय जादूगर मेस्सीलाई नै जान्छ ।
‘म शब्दहरू जोड्न चाहन्छु तर लियोका बारेमा के भनौं र खै ?’ भाल्भेर्देले यस सीजनको आरम्भमा भनेका थिए ।
‘उनले सबै कीर्तिमान तोडिरहेका छन् र अझै केही तोड्न बाँकी छन् । जनताले उनीबाट जहिले पनि विशेष प्रदर्शनको आशा गर्छन् र उनले त्यस्तो प्रदर्शन गर्छन् पनि । उनी के हुन् र वैश्विक दृष्टिकोणबाट हेर्दा उनको महत्त्व कस्तो छ भन्ने हामीलाई थाहा छ र हामी त्यसको आनन्द उठाइरहेका छौं,’ उनले भनेका थिए ।
स्पेनको च्याम्पियन टोली हुनु आफैंमा लोभलाग्दो उपलब्धि हो तर युरोपेली च्याम्पियन बन्ने आशा बार्सिलोनाले पालिरहेको छ । अनि उक्त उपाधि दिलाउनका लागि मेस्सी सर्वोत्कृष्ट फर्ममा छन् ।
गोल डट्कममा प्रकाशित आमे रुज्काईको विश्लेषण